नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता एवं पूर्वप्रधानमन्त्री खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मुल्य मान्यतामा देखिएको विग्रह भएको बताए।
उनले भने, ‘पूर्व राष्ट्रपति वा उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कने कुरालाई कुनै ऐन, कानूनले रोकेको छैन। हर व्यक्तिको यो आफ्नै नैतिक कुरा हो, आचरणको कुरा हो। उसले कसरी महसुस गर्छ व्यक्तिले त्यो कुराहरु होे यो। अब नैतिक मूल्य, मान्यता मुलुकका मेजर पार्टीहरुले आफै बिगार्दै लगिरहेको अवस्थामा यो पनि अर्को बिग्रहको कुरा होला।’
पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेमै फर्किएर राजनीतिक नेतृत्वमा स्थापित हुने प्रयास जारी रहेको समाचार बाहिर आइरहेका छ भने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पुनः नेकपा माओवादी केन्द्रको उपाध्यक्ष र सचिवालय सदस्यका रुपमा क्रियाशील हुन थालेपछि उनीहरुको राजनीतिक जीवन र पदीय मर्यादाको विषयले विशेष चर्चा पाइरहेकोे छ।
एक प्रश्नको जवाफमा खनालले संविधान संसोधन भन्दा पनि संविधान पूनरावलोकन गर्न सुझाव दिए।
उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए।
खनालले शासकिय स्वरुप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको दाबी गरे।
खनालले सामाजिक संजाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भएपनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे।
उनले सामाजिक संजाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे।