हिमाल दैनिक
परिवर्तनका उपलब्धिसँगै संविधान नै खारेज गर्ने चाहना प्रधानमन्त्री ओलीमा छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन्।

सोमबार जनकपुर बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले मुलुकमा भएका आन्दोलन, त्यसबाट प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीको विषयमा लक्षित गर्दै उनले भने, ‘विगतदेखि नै हामीले धेरैचोटी भनिसकेका छौँ, उहाँले त चाहनु हुन्छ कि, सबै चिज, आन्दोलन, परिवर्तन, सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहनेवाला हो नि त, हाम्रो अहिलेको प्रधानमन्त्री त। विगतमा दुई दुई चोटी संसद विगटन गर्नुको तात्पर्य तपाइहरुले देखिसक्नु भएको छ।’

अध्यक्ष दाहालले मधेस केन्द्रित दल र जनताको माग अनुसार, आफू प्रधानमन्त्री हुँदा संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लैजाँदा पनि एमाले अध्यक्ष ओलीले नै रोकेको भन्दै यसबारे पत्रकारहरुले मधेस र मधेसी जनतालाई बुझाइदिनु पर्ने आग्रह गरे।

सरकारले जारी गरेका केही अध्यादेशहरु संसदबाट पारित गराउने प्रक्रियामा राष्ट्रिय सभामा देखिएको अंक गणितीय खेलको कारण सत्ता पक्षले जनता समाजवादी पार्टी नेपाल र यसका अध्यक्ष उपेन्द्र यादवसँग गरिरहेको चरणबद्ध वार्ता र जसपाको सत्तारोहणबारे सोधीएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले आफ्नो मुद्दा, विधि, प्रक्रियाको कुरा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन गर्ने अथवा सरकारमा जाने सम्भावना आफूले नदेखेको बताए।

जसपा नेपालले अध्यादेशको विषयमा केन्द्रीय समितिबाट निर्णय गर्न बाँकी नै रहेको अवस्थामा उक्त पार्टीले आफ्नोे अडान कायमै राखेको अवस्थामा राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैगएको दाबी पनि दाहालले गरे।

सरकारको गठन नै सुशासन, संमृद्धी र जनताको अधिकार रक्षाका लागि नबनेको भन्दै यो संविधान मिचेर बनेको सरकारबाट धेरै अपेक्षा गर्न नसकिने बताए।

यसका अतिरिक्त उनले यो सरकारको गठन नै संविधानको मर्म विपरित र लोकतन्त्रको अभ्यास विपरित दुई ठूला दल मिलेर बनेपनि यसबाट धेरै आशा गर्ने ठाउँ नभएको दाबी उनले गरे।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update