
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कार्यशैलीलाई जर्मनीका निर्वाचित तानाशाह हिटलर र इटलीका तानाशाह मुसोलिनीसँग तुलना गर्दै आधुनिक लोकतन्त्रमा त्यो शैली नचल्ने दाबी गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले आइतबार काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीमाथि गरेको कारबाहीको घोर निन्दा गर्दै उक्त कार्यलाई हिटलरको नाजीवादी शैलीको संज्ञा दिए।
कवाडी व्यवसायीमाथि महानगरपालिकाले ड्रोजर चलाएर सर्वसाधारण कवाडी व्यवसायीहरु घाइते भएको भन्दै सर्वसाधारण नागरिकको मौलिक हक र बाँच्न, बोल्न र बस्न पाउने हकमाथि अतिक्रमण गर्ने अधिकार मेयर बालेन शाहसँग नभएको बताए।
बालेन शाहको शैलीलाई चुनौति दिँदै सांसद सिंहले आक्रामक शैलीमा बोल्दै यदी बालेन शाहसँग हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाउन चुनौति दिए।
उनले संविधान र कानूनी शासनमा राज्यको दायित्व सबै जनताको अधिकार सुरक्षित गराउने दायित्व रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण पनि गराए।
प्रस्तुत छ, सांसद अमरेशकुमार सिंहले संसदमा व्यक्त गरेको अभिव्यक्तिको अंशः
सम्माननीय सभामुख महाेदय,
हामी २०७२ को गणतान्त्रिक संविधानमा हौं। काठमाडौं सातै प्रदेशको राजधानी हो र सम्पूर्ण नेपालीको राजधानी हो। यहाँ काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको उदय भएको थियो, इलेक्टेड शासकबाट हिटलरबाट ठ्याक्कै त्यस्तै हिट्लरको शैलीमा हिजो २७ गतेको दिन ११ बजे कवाडीमाथि ड्रोजर चलाइयो र त्यहाँ जो गरिब मजदूरहरु थिए तिनिहरुलाई घाइते बनाइयो।
त्यी मजदूरमा मुस्लिम पनि छ, दलीत पनि छ, मधेसी पनि छ र सबै गरिब तप्काका छन्। बसन्त नेपाली काठमाडौंका घाइते भएका छन्, जो ट्रमा सेन्टरमा छन्, हरिस अनसारी रौतहट, हदिश देवानी रौतहटका छन्, रञ्जन रौनियार सर्लाहीका छन्। यिनीहरु कोही शासक छैनन्, जति पनि घाइते भएका छन्।
म बालेनलाई च्यालेन्ज गर्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाउ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाउ, हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ, हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भवन भत्काएर देखाउ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन।
हामी संघीय सरकारलाई आग्रह गर्न चाहन्छौँ, हाम्रो देश बहुभाषिक, बहुधार्मिक हो। र हरेक तप्काका नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने, बोल्ने स्वतन्त्रता संविधान र मौलिक हकले गरेको छ। यो त कस्तो देश भयो भने, लथालिंग देशको भताभुङ्ग चाला, जसले जहाँ सके, त्यहीले खाला। यहाँ न्याय नहुने? के न्याय मरेको देश हो यो? के कानून नभएको देश हो? कि मेयर कुन तानाशाह भएर निस्किएको छ?
मैले नेपालको अहिलेको परिस्थिति देखेर जर्मनीको हिटलर, इटलीको मुसोलिनी जस्तै के नाजीवाद र फाँसीवादको सुरुवात यहाँ हुन खोजेको हो लोकतन्त्रको नाउँमा?
लोकतन्त्रमा जनताको आवाज, जनताको अधिकार, जनताको सुरक्षाको ग्यारेन्टी गरिएको हुन्छ। त्यसैका लागि राज्यको स्थापना गरिएको हुन्छ। (बोल्दा बोल्दैै लाइन गयो...)