नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको दाबी गरेका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले आजै बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीलाई जनआन्दोलनबाट प्राप्त परिवर्तन र संविधान खारेज गर्न चाहिरहेको भनि दिएको अभिव्यक्तिको प्रतिउत्तरमा यस्तो दाबी गरेका हुन्।
दाहालको भनाइप्रति लक्षित गर्दै एमाले नेता भट्टराईले भने, ‘प्रतिपक्षी दलको नेताले के आधारमा खारेज गर्ने भन्नु भो? उहाँ अलिकति बिध्वंस गर्दै हिँड्ने मान्छे भएकोले अरुलाई पनि विध्वंस गर्लान्, संविधान नै खाइदेलान्, जलाइदेलान् भन्ने उहाँलाई चिन्ता होला। नेकपा एमाले र नेपाली कांग्रेसले संविधान खाँदैनन्, जलाउँदैनन्, च्यात्दैनन्।’
उनले एमाले र कांग्रेसले बरु यो संविधानको सम्बर्धन, रक्षा र संशोधन गर्ने दाबी पनि गरे।
उनले वर्तमान सत्ता गठबन्धनका प्रमुख दुई दल एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमतिका आधारमा संविधानमा देखिएका कमिकमजोरीलाई केलाएर त्यसमा आवश्यक सुधार र परिमार्जनका लागि संवैधानिक बाटोबाटै सुधार गर्ने बताए।
यसरी संविधान संशोधनको प्रक्रियामा कांग्रेस र एमालेले कार्यदल बनाएर संविधानमा देखिएका कमिकमजोरीमाथि सदनमा रहेका सबैै राजनीतिक दलबिच सम्वाद र सहमतिको माध्यमबाट ०८४ सालको निर्वाचन अगावै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताए।
अहिलेको संविधान सवैलाई सर्वस्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकता अनुसार संशोधन गरिने बताए।
सरकारले संसदमा पेश गरेका अध्यादेशको विषयमा जवाफ दिँदै संविधान बमोजिम अध्यादेशबारे निर्णय प्रक्रियामा पुग्न दुई महिनाको समय भएको भन्दै चैत १८ गतेभित्र पारित गर्न मिल्ने भएको कारण यसबारे अन्य दलहरुसँग वार्ता र सहमति कायम गरी पारित गराउने मात्रै दाबी गरेनन्, ‘लास्टकाे अन्तिममा भन्छन् नि, लास्टकाे अन्तिममा प्रचण्डजीले पनि समर्थन गर्न सक्छन्।’