हिमाल दैनिक
भ्रष्टाचार निवारण संशोधन विधेयक कार्यसूचिबाट हटेकोमा विपक्षी दलको आपत्ति

प्रतिनिधि सभाको मंगलबारको बैठकमा पूर्वनिर्धारित कार्यतालिका अनुसार भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयक पेश नगरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति प्रकट गरेको छ।

अपरान्ह १ बजे बसेको प्रतिनिधि सभाको बैठकको सुरुमै विशेष समय लिएर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ १५ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको सम्भावित कार्यसूचि अनुसार आजको बैठकमा भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयक पेश हुने भनिएपनि मंगलबारको कार्यसूचिबाट उक्त विषय हटाएकोमा आपत्ति प्रकट गरे।

उनले सोही कार्यसूचिको आधारमा सोमबार पनि सभामुखको उपस्थितिमा आजको कार्यसूचिमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट सर्वसम्मत पारित भएको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छलफल गरी सदनबाट पारित गराउने भनिएपनि आजको बैठकमा प्रवेश गर्दैगर्दा एकाएक सरकारले समय छैन भनि उक्त विधेयक कार्यसूचिबाट हटाइएको भन्दै सदनलाई नियमावली अनुसार चलाउन माग गरे।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले आपत्ति प्रकट गरेपछि सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिउत्तरमा आपत्ति प्रकट गरे।

उनले संसदको बैठकका लागि माघ १८ गतेदेखि २९ गतेसम्मको सम्भावित कार्यसूचि तय भएपनि बैठकको दैनिक कार्यसूचि सभामुखले आवश्यकताका आधारमा फेरबदल गरी बैठक बस्नु एक घण्टा अघि सार्वजनिक गरिने उल्लेख गर्दै विपक्षी दलका प्रमुख सचेतकले कार्यसूचिको विषयमा भ्रम सृजना गर्ने प्रयास गर्न नहुने दाबी गरे।

त्यसको प्रतिवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सदनको संचालन कार्य व्यवस्था परामर्श समितिको निर्णय र सदनको नियमावली बमोजिम सभामुखले सदन संचालन गर्नु पर्ने भन्दै सरकारको छायामा सदनलाई पार्न नहुने जिकिर गरे।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update