प्रतिनिधि सभाको नेतृत्वसँगै बैठक संचालनको जिम्मेवारी पाएकै व्यक्तिको गैरजिम्मेवार कदमका कारण सदनको कारबाही अवरुद्ध हुन पुगेको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकको सुरुमा आकस्मिक समय सुरु गर्दै सभामुख देवराज घिमिरेले केही सदस्यहरुलाई कसैलाई २ मिनेट र कसैलाई ३ मिनेटभित्र आफ्ना भनाई राख्न समय दिए।
उक्त समयमा सत्ता र प्रतिपक्षी दलकाबिचमा आजको कार्यसूचिको विषयलाई लिएर केही विवाद भएपनि सभामुख घिमिरेले स्थिति बिग्रन नदिई आजको दैनिक कार्यसूचि अनुसार, सून्य समयमा बोल्न सदस्यहरुलाई समय दिए।
त्यसको केही समयपछि बैठक सूचारु गर्न उपसभामुख इन्दिरा रानालाई सभामुखको आसनमा बसाउँदै उनी आफ्नो कार्यकक्षतिर लागे।
सून्य समयमा बोल्न नाम टिपाएका सदस्यहरुको नामावली तलमाथि गर्दै सदस्यहरुलाई एक मिनेटको समयमा आफ्ना कुरा राख्न दिएकी उपसभामुख रानाले त्यसपछि विशेष समयमा प्रवेश गर्दै कांग्रेसका सांसद रामकृष्ण यादवको नाम उच्चारण गरिन्।
त्यहीबिचमा सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा उभिएर बोल्न समय मागेपछि उनले अकमकिँदै उनलाई दुई मिनेटभित्र आफ्नो भनाई राख्न समय दिइन्।
सभामुखले बोल्न समय दिएपछि खतिवडाले नेपाल प्रहरीको सरुवा, बढुवा, नियुक्तिदेखि विगतमा सत्तामा रहँदा प्रहरी प्रमुखलाई आफ्नो पक्षमा बोल्न कानेखुशी गरेको प्रसंग उल्लेख गर्दै व्यंग्य गरे।
तर, त्यहीबिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसदको नियमावलीको नियम २६ लाई उल्लेख गर्दै आकस्मिक र सून्य समय सकिएपछि विशेष समय सुरु हुन लाग्दा कुन नियमावली बमोजिम खतिवडालाई बोल्न दिएको भन्दै आपत्ति प्रकट गरे।
त्यसपछि सभामुखको आसनबाट रानाले आफूले पहिले टिपाएको नामावलीको सूचिमा तलमाथि परेको भन्दै खतिवडालाई बोल्न दिएको भन्दै बसेर सदनको कारबाही अघि बढाउन सहयोगका लागि आग्रह गरिन्।
तर, पराजुलीले नियम विपरित दिएको समयमा खतिवडाले बोलेका कुरा रेकर्डबाट नहटाएसम्म सदनमा उभिएर विरोध जनाउँने घोषणा गरे। उनलाई साथ दिँदै रास्वपाका अन्य सांसददेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाए।
त्यसपछि सभामुखको कुर्सीमा बसिरहेकी रानाले आफूले कुनै नियतबस खतिवडालाई बोल्न नदिएको भन्दै यसबारे आफूले के भएको हो भनि अध्ययन गरी निर्णय गर्न सचिवालयलाई निर्देशन दिएको भन्दै सदन चलाउन कोशिश गरिन्।
झण्डै २० मिनेटसम्म विपक्षी दलले उभिएर विरोध जनाउँदा पनि उपसभामुख रानाले स्थिति सम्हाल्न नसकेपछि सचिवालयका कर्मचारीले सभामुख घिमिरेलाई बैठक कक्षमा बोलाए।
सभामुख घिमिरेले सून्य समयको समाप्तिसँगै सांसद खतिवडाले बोल्न समय माग गर्दा सभामुखको कुर्सीबाट उनलाई बोल्न समय दिएको विषयमा नियमावलीको प्रसंगबारे के कसरी विवाद टुंग्याउने भन्नेबारे अध्ययन गरी त्यसका आधारमा निर्णय गर्ने बताउँदै विपक्षी सदस्यहरुलाई बसेर निर्धारित कार्यसूचिमा अघि बढाउन सहयोगका लागि आग्रह गरे।
तरपनि विपक्षी दलका तर्फबाट बोल्न समय मागेपछि सभामुख घिमिरेले अरुलाई बोल्न दिँदा प्रश्न उठेजस्तै उनीहरुलाई बोल्न समय दिँदा पनि प्रश्न उठ्ने भन्दै समय दिन नसकिने भन्दै संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।
संसदीय अभ्यासका क्रममा विगतदेखि वर्तमानसम्म विशेषगरी सत्ता र प्रतिपक्षी दलका सदस्यहरु वा दलबिचको बादबिबादका कारण सदनको कारबाही अवरुद्ध हुने कुरा सामान्य हो। तर, जान्नेलाई छान्ने भन्ने नारा दिएर संसदमा उपस्थित रास्वपाको तर्फबाट विगत दुई वर्षदेखि उपसभामुखको भूमिकामा रहेकी रानाकोका केटाकेटी पनाका कारण सदनको कारबाही अवरुद्ध भएको यो सम्भवत् पहिलो पटक हो।
हुनत, उपसभामुख रानाले विगत दुई वर्षको अवधिमा ५ वटा अधिवेशनमा सभामुखको भूमिकामा रहेपनि सदनलाई व्यवस्थित ढंगले चलाउन नसक्दा बेलाबखतमा आलोचना खेप्दै आएकी छिन्।