हिमाल दैनिक
अर्थमन्त्री पौडेल र मेयरको आचार्यको स्वास्थ्यस्थितिबारे जानकारी लिन राष्ट्रपति कीर्तिपुर अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मी लगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको र्दुर्घटनामा परी आगो लागेर घाइते भएका थिए।

कार्यक्रम उद्घाटनमा प्रयोग गरिएको विद्युतीय बत्तिमा हावामा उडाउन फुकिएको बेलुनमा भरिएको ग्यास पर्दा आगोको लप्काले जल्दा हिजै हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

उनीहरुलाई कीर्तिपुरस्थित वर्न सेन्टरको आइसियुमा शनिबारै भर्ना गरिएको थियो।

पौडेल र आचार्यको स्वास्थ्य अवस्था बुझ्न बिभिन्न दलका नेताका साथै शुभेच्छुकहरु समेत अस्पताल पुगेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update