
राष्ट्रिय सभाले भारतको ओडिसास्थीत एक कलेजमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणकाबारेमा छानबिनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको मृत्युको विषयसँगै त्यसपछि उत्पन्न परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त घटनामा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै कुटनीतिक पहल मार्फत घटनाको सत्यतथ्य खोजि गर्न सरकारको ध्यानाकर्षण गराए।
दाहालले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
साथै उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उनले आग्रह गरे।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले छानविनको माग गर्दा कलेजबाटै निकालिएको भन्दै कुटनीतिक पहलमार्फत छानविन गर्न माग गरे।
त्यस्तै राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकायाले प्रकृति लम्सालको मृत्युका बारेमा फरकफरक धारणा बाहिर आएको भन्दै यस घटनामा कलेजले ट्वीस्ट गर्न खोजेको आरोप लगाए।
उक्त घटनाको छानविनका लागि तत्काल पहल गर्न उनले माग गरे।
त्यस्तै अन्य सदस्यहरुले नेपाली विद्यार्थीमाथि भएको दमन रोक्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका थिए।
नेपाली विद्यार्थी लम्सालको मृत्युको विषयलाई लिएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुले छानविनको माग गर्दै विरोधमा उत्रिएपछि विश्वविद्यालय प्रशासनले एकाएक त्यहाँको विद्यार्थी छात्रावास बन्द गर्दै नेपाली विद्यार्थीलाई नजिकैको रेलवे स्टेशनमा लगेर छाडिदिएको समाचार बाहिर आएको छ।
सयौँ नेपाली विद्यार्थी उच्चशिक्षा प्राप्तिका लागि उक्त कलेजमा भर्ना भएपनि अहिले उनीहरुलाई अनिश्चितकालका लागि कलेज बाहिर पठाएपछि उनीहरु अलपत्र परेको समाचार आइरहेको छ भने नेपालमा रहेका उनीहरुका आफन्तजन र घरपरिवार आफ्ना बालबालिकाको भविश्यप्रति चिन्तित बनेका छन्।