हिमाल दैनिक
एमालेकरण गर्ने सरकारको कार्यशैलीले लोकतन्त्र अप्ठ्यारोमा पर्दैछः कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मुलुकलाई कतै एमालेकरण त गर्न खोजिएको होइन भनि प्रश्न उठाएका छन्।

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व र सुशासनसहितको समृद्धी हाँसिल गर्ने उद्देश्यले आफूहरुसहितको पहलमा बनाएको कांग्रेस–एमाले गठबन्धनको सरकारकै कारण मुलुकको लोकतन्त्र अप्ठ्यारोमा पर्दैगएको दाबी गरे।

कोइरालाले भने, ‘यो सरकार बनाउने बेलामा हामीहरु सबै लागेका थियौँ। दुइटा ठूला दल मिलेर सरकार बनाउँ ताकि देशमा सुशासन दिन सकिन्छ। किन कि देशमा सुशासन छैन, यसका लागि संविधानमा संशोधन गर्न सकिन्छ। राजनीतिक स्थायित्व दिन सकिन्छ र देशलाई समृद्ध बनाउन सकिन्छ भनेर हामीहरु (मैले नै) पहल गरेको भन्न सकिन्छ।’

पछिल्लो समय सरकारको कार्यशैलीप्रति आक्रामक बन्दै गएका कोइरालाले थप्दै भने, ‘तर, जसरी यो सरकार चल्दैछ, अगाडि बढ्दैछ, संसदलाई छलेर अध्यादेशहरु ल्याउने जमर्को गर्दैछ त्यसले लोकतन्त्रलाई अप्ठयारोमा पारिरहेको छ।’
अध्यादेश राम्रो छ कि राम्रो छैन भन्ने कुरा गौण विषय भएको भन्दै उनले संसद अधिवेशन सुरुहुनु भन्दा ६ दिन पहिले के कति कारणले त्यी अध्यादेश ल्याउनु पर्यो भन्ने कुराको जवाफ सरकारले दिनुपर्ने उनले बताए।

सुशासन र भ्रष्टाचार नियन्त्रणको सवालमा सरकारप्रति गम्भीर आक्षेप लगाउँदै उनले भने, ‘हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो। तर, कस्तो सुशासन दिने रहेछ भने, घुस दिनेलाई समात्ने, घुस लिनेलाई छोडिदिने रहेछ।’

यसैगरी उनले महान्यायाधीवक्ताको क्रियाकलापप्रति आपत्ति प्रकट गर्दै राज्यले महान्यायाधीवक्तालाई दिएको अधिकारको दुरुपयोग भइरहेको आरोप पनि लगाए।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदार दलका रुपमा रहेको कांग्रेसका नेता कोइरालाले आफूहरु सत्तापक्षमा भएपनि सरकारमा छैनौँ कि भन्ने आशंका व्यक्त गर्दै सरकारलाई खबरदारी गरिरहनु परेको बताए।

आगामी चुनावमा कांग्रेस र एमाले एकआपसका प्रतिस्पधी दल भएको भन्दै सरकारका कामकारबाहीमा चित्त नबुझेको अवस्थामा खबरदारी गर्न आवश्यक रहेको पनि बताए।

पछिल्लो समय सरकारको नेतृत्व गरिरहेको एमाले नेतृत्वको कार्यशैलीप्रति आक्रोसित बनेका कोइरालाले भने, ‘मलाई त डर लागिराखेको छ, चिन्ता लागेको छ, यो सरकार एमालेकरण त भइराखेको छैन?’

सत्ता संचालनका लागि एमाले र कांग्रेसबिच गठन भएको उच्चस्तरिय संयन्त्र गठनप्रति आपत्ति प्रकट गर्दै उनले भने, ‘संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरुमा मात्रै हुन सक्दछ, साम्यवादी देशहरुमा मात्रै संयन्त्रले देश चलाउँछ, राज्य चलाउँछ, सरकार चलाउँछ। यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ, संयन्त्र। अब वडामा बाँकी छ, त्यहाँ पनि संयन्त्र बनाएर चलाउने दुश्प्रयास उहाँहरुले गर्न खोजिरहनु भएको छ।’

लोकतन्त्रमा संयन्त्रले यसरी देश नचलाउने धारणा व्यक्त गर्दै केन्द्रदेखि स्थानीय तहसम्मै संयन्त्रको भरमा संचालन हुन नहुने बताए।

‘त्यसकारण मलाई कता कता लागिराखेको छ, विस्तारै नथाहापाउने किसिमले एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको छ।’

कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै परिमार्जन गरेरमात्रै अघि बढाउनुपर्ने धारणा पनि राखे।

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update