नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समय सीमाभित्रै हुने बताएका छन्।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया शुरु भईसकेको भन्दै तोकिएको समय सीमाभित्रै हुने बताएका हुन्।
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि पार्टीकै कतिपय संस्थापन इतर समूहको रुपमा परिचित नेताहरुले पार्टीको १५औं महाधिवेशन विधानको व्यवस्था अनुसार ४ वर्षभित्रै अर्थात आगामी मंसिर भित्रै हुनु पर्ने धारणा व्यक्त गर्दैआइरहेका बेला शुक्रबार महामन्त्री थापाले भने विधानले तोकेको समयभित्र हुन्छ भनेर उम्किए।
उनले पार्टीको महाधिवेशनलाई एउटा नियमित प्रक्रिया भएको उल्लेख गर्दै त्यतिबेला पार्टीभित्र विभिन्न समूह बन्ने र एकआपसमा प्रतिस्पर्धा हुने बताउँदै अन्यबेलामा गुट र समूहमा विभक्त हुन नहुने बताए।
उनले भने, ‘त्यसैले हाम्रो छलफल, हाम्रो उर्जा, हाम्रो बहस सबै त्यतातिर नलगाउँ भन्ने कुरा मात्रै हो। त्यो एउटा नियमित र समान्य प्रक्रिया हो, त्यहाँ हामी जान्छौँ।’
पत्रकारहरुले पार्टी महाधिवेशन कहिले हुन्छ भनि सोधेको प्रश्नको जवाफमा महामन्त्री थापाले भने, ‘महाधिवेशनका सवालमा हामीले आफ्नो प्रक्रियाहरु सुरु गरिसकेका छौँ। महाधिवेशन पार्टीको विधानले तोकेको जुन समय छ, त्यो समयको सीमाभित्र हुन्छ।’
पार्टी विधानको धारा १७ को उपधारा (१) अनुसार, पार्टी केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुने उल्लेख छ। भने सोही विधानको धारा ४३ को पदावधि सम्बन्धी व्यवस्थाले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने उल्लेख छ।
तर, महामन्त्री थापाले विधानले तोकेको ‘जुन समय छ, त्यो समयको सीमाभित्र हुन्छ’ भनेपनि त्यो समय सीमा विधानको धारा १७ बमोजिम हो अथवा धारा ४३ बमोजिम ५ वर्षको समयसीमा हो केही खुलाएका छैनन्।
उता नेपालको संविधानको धारा २६९ को उपधारा (४) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशले विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न छुट दिएको छ।
अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई महामन्त्री थापाले आग्रह पनि गरे।
महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मुल्य मान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे।
उनले पछिल्लो समय पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए।
पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘मलाई के विश्वास छ भने, नेपालका नागरिकहरु जसले यो भन्दा पहिले पटक पटक यो कुराको अनुभूति गरेर आइसक्नु भएको छ, त्यो अनुभूति गरेर आएका कसैले पनि अब नेपालमा लोकतन्त्रको अथवा यो व्यवस्थाको विकल्प खोज्छ भन्ने कुरा म त्यो कल्पना पनि गर्दिन। म यसमा मान्दा पनि मान्दिन। म यो बहसमा भाग लिनु पनि आफैमा नेपाली नागरिकहरुको लोकतन्त्रप्रतिको भरोसालाई गिज्याउने हो भन्ने ठान्दछु। त्यसकारण यसमा छलफल पनि नगरौँ भन्ने अनुरोध छ।’
पार्टीर्भित्रैबाट सरकारको विरोध भईरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत दाबी गरे।
‘हामीले गरेका खबरदारीहरु पार्टीको जिम्मा पाएका साथीहरुलाई थप सचेत गराउने कुराका लागि हुनुपर्छ। उनीहरुलाई थप सफल बनाउने कुराका निम्ति र उनीहरुलाई गलत काम नगरुन भन्न र प्रेरित गर्नका लागि हुनुपर्छ। न कि अन्य कुनै राजनीतिक प्रयोजनका निम्ति हुनु हुँदैन भन्ने मात्रै हो। त्यसैले साथीहरुलाई प्रश्न गर्ने वा खबरदारी गर्ने कुरालाई म सामान्य कुराका रुपमा लिन्छु,’ उनले भने।