नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसंग आफ्रनो पार्टी एकीकरणको कुनै सम्भावना नरहेको दाबी गरेका छन्।
शुक्रबारबाट ललितपुरमा सुरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो बिचार र लक्ष्यकासाथ अघि बढिरहेको भन्दै अन्य पार्टीसंग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन्।
कहिले एमाले र केहिले माओवादीसंग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने दाबी गरे।
उनले ०७८ सालमा तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व र उनको कार्यशैलीविरुद्ध गरेको बिद्रोहको औचित्य पुष्टि हुदै गएको दाबी समेत गरे।
नेपालले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको आरोप लगाउँदै सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने बताए।
उनले समाजवादको पक्षमा रहेका शक्तिहरुलाई एकतावद्ध गर्नका लागि पहलकदमी लिइरहेको जिकिर पनि गरे।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन्।
निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगाएतका बिषय आचारसंहितामा समेटिएको छ।