नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मीक समयमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सांसद न्यौपानले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति र त्यसले निम्त्याएका सार्वजनिक प्रतिक्रियाप्रति आपत्ति जनाउँदै यस्तो चुनौतिसहितको सुझाव दिएकी हुन्।
उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले नभई जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने दाबी गरिन्।
कसैको निगाहमा पुनः सत्तामा फर्किने सपना देखेर बसेका पूर्व राजा र उनको समर्थनलाई सम्झाउँदै उनले भनिन्, ‘सत्तामा नै फर्कने चाहना यदि छ भने टीका लगाएर, या कसैको कृपाले हैन। नागरिकले पाउने सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुहोस्।’
पूर्व राजाको अभिव्यक्ति पश्चात अहिलेको शासन व्यवस्था र राजनीतिक परिवर्तनका लागि कुनै योगदान नदिएपनि त्यही व्यवस्थाको भरपुर फाइदा उठाएकैहरुले यो व्यवस्था नै बेठिक भन्दै हल्ला पिटिरहेकोप्रति आश्चर्य व्यक्त गरिन्।
उनले लोकतन्त्रिक शासन व्यवस्थाका लागि कुनै योगदान नगरेकाहरुबाट यो शासन व्यवस्थाको रक्षा हुने अपेक्षा गर्नु मुर्खतापूण सोच भएको बताउँदै यसको विरोधका नाममा समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई नभएको बताइन्।
उनले दोस्रो जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनले जनतालाई रैतिबाट नागरिक बनाउँदै देशकै सर्वोच्च पदमा पुग्न सक्ने मात्र होइन, त्यही आन्दोलनले राजालाई पनि राजाबाट नागरिक बनाएको दाबी गरिन्।
सांसद ईश्वरीदेवी न्यौपानेले संसदमा व्यक्त गरेको विचारको अंशः
सम्माननीय सभामुख महोदय
प्रजान्त्र दिवसको पुर्व संध्यामा पुर्व राजाले व्यक्त गरेको विचारलाई लिएर समाज तरङ्गित त भयो नै,पक्ष र विपक्षमा मतहरु छताछुल्ल भए अझ यो विचमा व्यवस्था नै बेठिक हो भनेर ठुलो ठुलो स्वरले डङ्का पिटेको दृष्य समेत देख्न पाईयो।
जस्ले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन् तर सत्ताको उपभोग गर्दै यो व्यवस्थाको भरपुर फाईदा उठाए विडम्बना१ तिनैले यो संविधानको भर्याङ प्रयोग गर्दै संबिधानको भावना बिपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाकै विपक्षमा कृयाकलाप गरिरहेको देख्दा २०६२÷६३को जनआन्दोलन गणतन्त्रको लागि मर्न तयार जनता र त्यो जनसागर झल्झली सम्झिरहेको छु।
लोकतन्त्रमा बोल्न मजाले पाइन्छ तर अराजक वन्न र समाजलाई अराजकता तिर धकल्ने छुट कसैलाई हुँदैन।
सभामुख महोदय
प्रसुति वेदनाबाट नगुज्रेको आमाले कसरी त्यसको दर्द र गर्वको अनुभुती गर्न सक्छन्? अनि अरुले जन्माएको बच्चालाई पनि मायाँ गरोस भनेर आशा गर्नु हाम्रो पनि मुर्खता हो।
नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो, लोकतन्त्रको बिकल्प लोकतन्त्र भन्दा अरु हुनै सक्दैन।
हो व्यक्ति गलत हुन सक्छ,व्यक्तिबाट गल्ती हुन सक्छ,,व्यक्तिले गल्ती गर्न सक्छन्, बिधिको शाशनमा गल्ती सच्याउने र सजाय गर्ने पनि बिधि हुन्छ।
त्यो बिधिलाई छलफल गरेर अझ पारदर्शी र कसिलो बनाउन सकिन्छ,गल्ती गर्नेलाई दण्दित गर्न सकिन्छ तर कुनै पनि बहाना गरेर गणतन्त्रमाथि प्रहार स्विकार्य छैन।
पछिल्ला दिनहरुमा संसद जनताको समस्यामा छलफल गर्ने भन्दा पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्ने थलो जस्तो देखिदैछ, संसद मर्यादित भन्दा पनि अराजक भयो भन्ने गुनासो सुनिनण थालेको छ,लोकतान्त्रिक गणतन्त्रको लागि लडेकाहरु सचेत हुन जरुरी छ कतै व्यवस्था माथी वितृष्णा फैलाउन चालिएका चालहरु त हैनन् यी?
पुर्व राजाले फेरि सत्तामा फर्कन खोज्नु,आफ्ना समर्थकलाई त्यसमा साथ दिन आह्वान गर्नु,पक्षधरले साथ दिनु कुनै आश्चर्यको बिषय भएन आफ्ना भनाइ राख्दै गर्दा एउटा कुरा बिर्सन भएन कि त्यति कुरा भन्न पाउने अधिकार पनि यहि लोकतन्त्रको देन हो।
सभामुख महोदय
जुन आन्दोलनले जनतालाई रैतिबाट नागरिक बनायो,नागरिक नै देशको सर्बोच्च पदमा पुग्न सक्ने बनायो त्यहि आन्दोलनले नै हो राजालाई पनि राजाबाट नागरिक बनाएको।
सत्तामा नै फर्कने चाहना यदि छ भने टीका लगाएर, या कसैको कृपाले हैन नागरिकले पाउने सुबिधाको उपभोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस,पुर्व राजा र समर्थकहरुलाई मेरो सुझाव, कहिले पुरा नहुने झर्ला र खाउला भन्ने सोचाई त्यागिदिनुस।