हिमाल दैनिक
स्वार्णिम वाग्लेको त्रुटि रामहरिले औँल्याइदिएपछि सभामुखले दिए सच्याउन निर्देशन

गत आमनिर्वाचनपूर्व भर्खर स्थापना भएको रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन प्रचारका क्रममा केही चर्चित नाराहरु अघि सारेको थियो। जसमध्ये प्रमुख अथवा सम्झनायोग्य नारा थियोः जान्नेलाई छान्ने।

यसरी जनजनको मनमा छुन सफल नाराकै कारण उक्त पार्टीले स्थापना भएको ६ महिनामै चमत्कारपूर्ण निर्वाचन परिणाम हाँसिल पनि गर्यो।

त्यसको ६ महिना पनि वित्न नपाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा दिएर रिक्त भएको तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा उक्त रास्वपाका तर्फबाट जान्नेलाई छान्ने नारा लिँदै उम्मेदवार बनेका थिए, स्वर्णिम वाग्ले।  

तर, उनै जान्नेलाई छान्ने भन्दै अरुभन्दा आफूलाई हरेक हिसाबले जान्ने र अब्बल ठान्ने वाग्लेलाई पुरानो पार्टी नेपाली कांग्रेसका रामहरि खतिवडाले त्रुटि औल्याइदिँदा सभामुखले सच्याउनु परेको छ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको सन्दर्भमा रास्वपा उपाध्यक्ष वाग्लेले दिएको अभिव्यक्ति सच्याउन सभामुख देवराज घिमिरेले सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन्।

उच्चशिक्षा अध्ययनका लागि ओडिसामा गएकी लम्सालको गत अघिल्लो साता भएको रहस्यमय मृत्युको विषयमा सांसद वाग्लेले फागुन ६ गते दिएको अभिव्यक्तिका क्रममा प्रयोग भएका शब्दाबलीलाई लिएर सोमबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ती गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपनि सभामुख घिमिरेले त्यस्तो निर्देशन दिएका हुन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सून्य समय सकिएर नियमित कार्यसूचिमा सभामुख घिमिरे प्रवेश गर्नैलाग्दा नियमापत्ती गर्दै सांसद खतिवडा उभिएर समय माग गरे।

त्यसपछि सभामुख घिमिरेले खतिवडालाई के कुरामा आपत्ति हो भनि प्रश्न गरेपछि सांसद खतिवडाले फागुन ६ गते भारतको ओडिसामा प्रकृति लम्सालको दुःखद घटनाप्रति सबै चिन्तित भएको भन्दै उनको स्वर्गवासप्रति सबैले हार्दिक श्रद्धाञ्जली दिएको बताए।

‘तर, एक जना माननीय सदस्यले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसदको रेकर्ड गराउनु भा छ। बुटबलबासीमात्र होइन, देशबासी घरपरिवारमा एउटा छोरी परलोक भाको अवस्थामा परिवारका सबैलाई श्रद्धाञ्जली भन्ने शब्द रेकर्डबाट हटाइयोस्। यो हो, फागुन ६ गतेका दिन माननीय स्वर्णिम वाग्ले वक्ताले त्यो भन्नु भा छ, त्यसैले यो शब्द संसदबाट हटाइयोस्, रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहनछु।’

सांसद खतिवडाले उठाएको विषयप्रति सभामुख घिमिरेले ध्यानाकृष्ट भएको बताउँदै भने, ‘म सचिवालयलाई के भएको छ? त्यस्तो भएको छ भने, त्यसलाई सच्याउनका लागि निर्देश गर्दछु।’

केआईआईटीमा अध्ययनरत लम्साललाई एक विद्यार्थीले गरेको शारिरीक तथा मानसिक दुव्र्यवहारका कारण होस्टेलकै कोठामा आत्महत्या गरेको विषयले उत्पन्न असहज परिस्थितिबारे रास्वपा सांसद वाग्लेले सदनमा आफ्नो धारणा राखेका थिए।

उक्त विषयमा बोल्दै सांसद वाग्लेले भनेका थिए, ‘हिँजो ओडिसाको कलिंगा इन्स्टिच्यूट फर इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा असाध्यै दुःखद घटना घट्यो। नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ। परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेका छौँ।’

यसरी उनले लम्सालको मृत्यलाई सामान्य अवस्थामा जस्तो असामयिक निधन मात्रै भनेनन्, उक्त घटनाप्रति आफू र आफ्नो पार्टीको तर्फबाट समस्त परिवारजनप्रति समवेदनको सट्टा श्रद्धाञ्जली भनेपछि वाग्लेको विषयमा सामाजिक सञ्जालमा आलोचना भएको थियो।

उक्त विषयलाई लिएर आजको संसदमा कांग्रेस सांसद खतिवडाले आपत्ति प्रकट गरेपछि सभामुख घिमिरेले सचिवालयलाई दिएको निर्देशनका कारण उनको उक्त अभिव्यक्तिका क्रममा प्रयोग भएको पदावलीहरु हट्ने स्थिति बनेको हो।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update