नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले मुलुकमा भ्रष्टाचार मौलाएको मात्र होइन, भ्रष्टाचारीहरु सरकारवाट संरक्षित भएको आरोप लगाएको छ।
सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारवाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए।
भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्व कडा भन्दा कडा कारवाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसंग माग गरेको छ।
बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर वर्तमान सरकारले अध्यादेश ल्याइएको भन्दै अध्यादेशको बिरोधमा संघीय संसदका दुबै सदनमा मतदान गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र सम्वादको माध्यमबाट ताप्लेजुङ केवलकारको समस्या समाधान गर्न र दूध र उखुको भुक्तानी गर्न सरकारसंग माग गरिएको महासचिव भुसालले बताए।
उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए।
बैठकले जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डो¥याउने गरि आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले जानकारी दिए।
गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग समेत बैठकले गरेको छ। बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ।
त्यस्तै पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए।