नेकपा एमालेले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।
एमाले पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्न ध्यानाकर्षण गर्ने निर्णय गरेको हो।
केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकले पार्टीका संगठनका संरचनालाई परिवर्तन गर्ने निर्णय गरेको छ। जसअनुसार जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए।
बैठकले स्थानीय बिकास बिभाग र प्रचार बिभागको सचिवमा क्रमश नवराज गेलाल र गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ। त्यस्तै नीति तथा कार्यक्रम छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका
जनप्रतिनिधिहरुको भेला चैत्र मसान्तसम्म र प्रदेशका हकमा प्रदेशमा रहको मुख्यमन्त्री मन्त्री र दलका नेतालगाएत रहेको संयुक्त भेला गर्ने निर्णय भएको पोखरेलले बताए।
महासचिव पोखरेलले सरकारले ल्याएका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य भएको भन्दै सरकारको प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
त्यस्तै बैठकले पार्टीको स्थापना दिवसमा कम्युनिष्ट योद्धा सम्मान गर्न प्रत्येक प्रदेशबाट एक–एक जना कम्युनिष्ट योद्धा पहिचान गरि सिफारिस गर्न निर्देशन दिइएको उनले बताए।
बैठकले सुदूरपश्चिम प्रदेशले प्रदेश कमिटी सदस्य नियुक्त गर्न गरेको सिफारिस अनुमोदन गरेको छ।