नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका आन्तरिक मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार नेपाली कांग्रेस ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र नमिलेका र विवादका बिषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताए।
‘हाम्रोबिचमा अनेक किसिमका मतभेद हुनुसक्छन्। हाम्रोबिचमा कतिपय कुराहरु नमिलेका हुन सक्छन्। तर, आपसमा छलफल गरेर, आपसमा मेलमिलाप गरेर विश्वाससहित कुराकानी गरेर हामीले मतभेदहरुलाई हटाएर हाम्रो पार्टीलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दछ,’ सभापति देउवाले भने।
विद्यमान संविधान र निर्वाचन प्रणालीमा रहेको व्यवस्थाका कारण कुनै पनि पार्टीले एकल बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका बाबजूद पनि पार्टीलाई जनमुखी र जीवन्त बनाएर लाने सके कांग्रेस पार्टीप्रति देशभित्र र बाहिरबाट आकर्षण बढ्न सक्ने र यसले अहिलेको भन्दा पनि अझ बलियो अवस्थामा पुग्न सक्ने दाबी पनि उलने गरे।
सभापति देउवाले वर्तमान सरकारले संविधानमा आवश्यक संशोधेन गरी यसको पूर्ण कार्यान्वयनमार्फत गणतन्त्र र समावेशीताको सिद्धान्तलाई अझ व्यवस्थित र सुदृढ बनाउन जरुरी रहेको बताए।
विगतमा छोटो समयमा पनि छिटो छिटो सरकारको फेरबदल हुँदा अस्थिरता बढेको अवस्थामा अहिले प्रमुख दुई दलबिचको सहमतिमा गठन भएको सरकारको सफलताबाट मुलुक र पार्टीलाई पनि लाभ हुने दाबी उनले गरे।
विपक्षी दलहरुले वर्तमान सरकारविरुद्ध संविधान र कानून संशोधनको नाममा दुई दलीय व्यवस्थामा जान र साना दलको अस्थित्व मिटाउन लागेको आरोप लगाइरहेका बेला सभापति देउवाले आफूहरु बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने पार्टी भएको कारण यसमा विपक्षी दलको भूमिकालाई पनि उत्तिकै महत्व दिएर जाने पक्षमा रहेको बताए।
सरकारमा विशेषगरी प्रमुख दुई दलसँगै केही साना दलको पनि सहभागीता रहेको उल्लेख गर्दै अहिले पार्टीले एकताबद्ध भएर वर्तमान सरकारलाई बलियो साथ र समर्थन दिन सकेको खण्डमा भोलिका दिनमा कांग्रेस नेतृत्वको सकारलाई पनि त्यही अनुरुपको सहयोग मिल्न सक्ने उनले बताए।
तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन्।