
बढ्दोे सहरीकरणसँगै युवाहरुमाझ लोकप्रिय बन्दै गएको स्केटिङ खेलको व्यवसायिक प्रबद्र्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकास्थित गाम्चा टोलमा नयाँ स्केटिङ हाउस निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
कीर्तिपुर नगरपालिका–४, गाम्चाका दुई स्थानीय युवा सुदिप बस्नेत र कृष्ण बस्नेतले आफ्नै लगानीमा गाम्चास्थित भगवानस्थान क्लब नजिकै आफ्नै नीजि जग्गामा स्केटिङ हाउसको निर्माण गर्न लागेका हुन्।
विशेषगरी स्थानीय बालबालिका तथा युवाहरुको शारिरीक व्यायम, मनोरञ्जनसँगै फुर्सदको समयमा मानसिक उर्जालाई सकारात्मक कार्यमा केन्द्रित गराउने उद्देश्यले आफूहरुले सानो लगानीमा व्यक्तिगत व्यवसायमार्फत पनि समाजलाई केही योगदान दिन सकिन्छ कि भनि उक्त स्केटिङ हाउसको निर्माण गर्न लागेको बताउँछन्।
स्केटिङ हाउस निर्माण कार्यमा संलग्न सुदिप बस्नेतले कलिला बालबालिका तथा युवा, युवतीहरु जसले स्केटिङ खेल सिक्न र मनोरञ्जनसँगै शारिरीक व्यायमका लागि स्केटिङ गर्न चाहन्छन्, उनीहरुका लागि नगरपालिकाभित्र खासै सुविधायोग्य स्केटिङ हाउसको उपलब्धता नभएको बताउँछन्।
‘यस्तो स्थितिमा हामीहरुले बनाउँदै गरेको स्केटिङ हाउसमा हाम्रै टोलछिमेक र आसपासको क्षेत्रका बालबालिका, युवा, युवतीहरु बिहान, बेलुका र फुर्सदको समयमा कम खर्चमा स्केटिङ सिक्न र मनोरञ्जन लिन पनि पाउँछन्, भने किन हामीले यो नबनाउँने?’ सुदिपले भने।
आफूहरुको लक्ष्य विशेषगरी कीर्तिपुर र चन्द्रागिरी नगरपालिका वरपरका स्थानीय बालबालिकाका अतिरिक्त त्यस क्षेत्रमा रहेका सरकारी तथा निजी विद्यालयका बालबालिकाहरुलाई स्केटिङ खेल सिक्न र खेल्न आकर्षित गर्नेगरी केन्द्रित रहेको उनीहरु बताउँछन्।
यसरी स्केटिङ गर्दा व्यक्ति रुपमा आउने भन्दा संस्थागत रुपमा अर्थात स्थानीय विद्यालयबाट साप्ताहिक कार्यक्रमका रुपमा समूहमा आउने बालबालिकालाई आफूहरुले अन्यत्र भन्दा कम शुल्कमा अधिकतम् समय सिक्न र खेल्न पाउनेगरी व्यवस्था गर्न लागेको उनीहरुको दाबी छ।
निर्माणकर्ताहरुका अनुसार, अबको केही दिनभित्रै उक्त स्केटिङ हाउस सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।