प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेशमात्रै प्रस्तुत हुने भएका छन्।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ५ अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्ने गरि कार्यसूची तयार गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा माघ २ गते जारी भएको विवादस्पद भूमि सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेशमा सहमति खोज्नका लागि भन्दै सरकारले त्यसलाई भोलिको बैठकमा पेश नगर्ने जानकारी पाएपछि कार्यव्यवस्था परामर्श समितिमा ५ वटा अध्यादेश मात्रै सदनमा प्रस्तुत गर्ने कार्यसूचि तय भएको हो।
कार्यव्यवस्था परामर्श बैठकपछि एमाले मुख्य सचेतक महेश बर्तौलाले ५ अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्ने गरि कार्यसूचीमा राखिएको जानकारी दिए।
उनले भूमिसम्बन्धी अध्यादेशमा सत्तासाझेदार दलका बीचमा केहि फरक मत आएकाले प्रतिष्थापन बिधेयकमार्फत संशोधन गर्ने वा नयाँ विधेयकमार्फत अघि बढ्ने भन्ने बिषयमा छलफल जारी रहेकाले अहिले संसदमा प्रस्तुत नगर्ने निर्णयमा पुगिएको बताए।
बर्तौलाले अध्यादेशका बिषयमा सत्तासाझेदारबीच उच्चतहमा समझदारी रहेको पनि बताए।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरले भूमि सम्बन्धी अध्यादेशलाई होल्डमा राखेर बिषयबस्तुमा छलफल गरिने र आवश्यक निर्णय लिइने जानकारी दिए।
जनता समाजवादी पार्टी (जसपा) नेपाल लगाएतका सत्तासाझेदारदलबीच भएको सहमति अनुसार नै अहिले ५ अध्यादेशमात्रै प्रस्तुत गर्ने निर्णयमा पुगिएको उनले बताए।
प्रतिनिधि सभामा प्रचण्ड बहुमतका साथ सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकारलाई राष्ट्रिय सभामा भने जनता समाजवादी पार्टी नेपालको समर्थनविना अध्यादेश त के, कुनै पनि प्रस्ताव पारित गराउन सजिलो छैन।
यही बाध्यकारी स्थितिलाई आधार बनाएर उपेन्द्र यादव नेतृत्वको जसपाले भूमि सम्बन्धी अध्यादेशलाई सरकारले फिर्ता नलिई प्रक्रियामा अघि बढाएर आफूहरुले अन्य अध्यादेशको पनि समर्थन गर्न नसक्ने धम्की दिँदैआएका थिए।
जसपाको समर्थनविना राष्ट्रिय सभामा बहुमत सिद्ध गर्न कठिनाई भएपछि एमाले र कांग्रेस नेतृत्व भूमि सम्बन्धी अध्यादेशलाई तत्काल अघि नबढाउने निर्णय लिन बाध्य भएका थिए।
कांग्रेस र नेकपा आफ्ना सांसदहरूलाई अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले बुधबार बस्ने संसद्को बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी समेत गरेका छन्। प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ।