गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किन नसक्ने दाबी गरेका छन्।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नसक्ने धारणा व्यक्त गरे।
उनले मुलुकमा विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिए।
गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको उल्लेख गर्दै त्यस्तो भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गरे।
उनले मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उद्दार र सहिष्णुता रहेकोको बताउँदै जनताले फालिसकेको राजसंस्थाका राजाले सबै स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताए।
उनले भने, ‘सामान्यतया, आन्दोलनबाट, क्रान्तिबाट फालिएको राजसंस्थाको राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास कमै देखिन्छ। विरलै देखिन्छ। हाम्रो लोकतन्त्र यति संयमित, यति परिस्कृत, यति उदार र यति सहिष्णु छ, कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिरहनु भा छ,’ भन्दै उनले थपे, ‘त्यो हो लोकतन्त्रको सुन्दरता भनेको।’
पछिल्लो समय व्यवस्थाको विरोधमा राजसंस्थाको वकालत गर्दै देशका विभिन्न भागमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै उनले चेतावनीको भाषामा भने, ‘यसलाई लोकतन्त्रको कमजोरीका रुपमा कसैले पनि नलियोस्।’