हिमाल दैनिक
प्रादेशिक आपतकालीन गोदामघर कर्णालीका मुख्यमन्त्री कँडेललाई हस्तान्तरण

गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेश सरकारलाई ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ गरेका छन्।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री लेखकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामस्थित रहेको प्रादेशिक आपतकालीन गोदामघर लिखित रुपमा हस्तान्तरण गरेका हुन्।

सो क्रममा मन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई प्रदेशमा हस्तान्तरण गरिएको उनले बताए।

उनले अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्न सक्ने धारणा राखे।

सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आपत्कालीन गोदामघर सातवटै प्रदेशमा व्यवस्था गरेको उनले जानकारी दिए।

गृहमन्त्री लेखकले डोटी, बझाङ, बाजुरा र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचनाको विवरणअनुसार पुनःनिर्माण र पुनःस्थापनका कार्यलाई अगाडि बढाइएको बताए।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले आपतकालीन गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको भन्दै हस्तान्तरित संरचनासँगै सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्थापनसमेत गर्नुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update