पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा र स्वागतका लागि भन्दै त्रिभुवन बिमानस्थल बाहिरको सडकमा जम्मा भएको भिडकाकारण विमानस्थलमा आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा राजावादीहरुको उपस्थितिसँगै उनीहरुले आइतबार अपरान्ह गरेको प्रदर्शनका कारण यात्रुहरुलाई सास्ती भएको हो।
काठमाडौं बाहिरको केही समयको बसाइ सकेर आइतबार पोखराबाट राजधानी फर्कने क्रममा रहेका पूर्व राजा ज्ञानेन्द्रको स्वागत र समर्थन गर्दै वर्तमान शासन व्यवस्थाको अन्त्य र राजतन्त्रको पुनस्थापनाको नारा लगाउँदै पूर्व पञ्चहरुको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तादेखि बैंकको अरबौँ रुपैयाँ ऋण लिएर व्याज समेत भुक्तानी नगरी उल्टैै बैंक म्यानेजरहरुलाई कालोमोेसो दल्न बेग्लै दस्ता बनाउने मेडिकल व्यवसायी दुर्गा प्रसाई र उनका समर्थकहरु अहिले विमानस्थल बाहिर पुगेका छन्।
त्रिभुवन बिमानस्थल भएर देशका विभिन्न भाग तथा अन्तर्राष्ट्रिय उडानमार्फत गन्तव्यमा जाने यात्रुहरु मुस्किलले सडक जाम छिचोलेर विमानस्थलको गेटैदेखि नै आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन्।
उता, देशका अन्य भाग तथा विदेशबाट नेपाल आएका यात्रुहरुलाई पनि गतन्तव्यमा पुग्न सास्ती भएको छ।
विशेषगरी विदेश यात्राका लागि हिँडेका यात्रुलाई विदाई गर्न गएका र लिन गएका आफन्तहरुलाई समेत प्रहरीले सडक छेउको गेटैमा रोकेको छ।
प्रदर्शनका कारण बिमानस्थल वरपरको सडक समेत अवरुद्ध भएको छ। जसका कारण सो क्षेत्र भएर आवातजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन्।
राजावादीको भीड बढेपछि ट्राफिक प्रहरीले तीनकुने देखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको छ भने अन्य स्थानमा ट्राफिक जाम भएको छ।