हिमाल दैनिक
सहकारी ठगीको आरोप लागेका रविले दिए उच्च अदालत तुलसीपुरमा जिल्ला अदालतविरुद्ध रिट निवेदन

सहकारीको बचत हिनामिना तथा संगठित अपराधमा संलग्न भएको आरोपमा विभिन्न जिल्लामा मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको इजलासमा निवेदन दर्ता गराएका छन्।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले निजलाई कसुरदार नरहेको भन्ने आधार देखिएन भन्दै एक करोड रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएपछि उक्त आदेशविरुद्ध पुरावेदनका लागि उच्च अदालत तुलसीपुरमा रिट दायर गर्न पुगेका हुन्।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

लामिछानेलाई एक करोड धरौटीमा थुनामुक्त गर्न आदेश दिएको जिल्ला अदालतले उनका व्यवसायिक साझेदार छविलाल जोशी लगायतका अभियुक्तहरुलाई भने हिरासतमै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। यसका अतिरिक्त लामिछाने र जोशीलाई त्यसअघि चितवन, काठमाडौं र पोखराको जिल्ला अदालतले क्रमशः साहारा, स्वर्णलक्ष्मी र सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना र संगठित अपराधन तथा सम्पत्ति सुद्धिकरणको मुद्दामा डेढ करोड भन्दा ज्यादा धरौटी लिएर थुनामुक्त गरिदिएको थियो।

दाङको तुलसीपुरस्थित उच्च अदालतमा निवेदन दर्ता गराएपछि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको भन्दै समयआएपछि सवै कुरा बोल्ने प्रतिक्रिया दिए।

आफु बोल्ने नै मान्छे भएको भन्दै उहाले केहि समय प्रतिक्षा गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update