हिमाल दैनिक
आदित्यनाथको फोटोबारे ओलीले भनेः अँ त्यो जुलुस पनि मैले नै गराइदिया... फोटो बोक्ने राणाजी पनि ठ्याक्कै मेरै भाई हो! चित्त बुझ्यो?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्हरुले कुनै पनि जुलुस निकाल्दा विदेशीको फोटो राखेर जुलुस निकाल्नु पर्ने दयनिय हालतमा नभएको भन्दै आइतबारको सडक प्रदर्शनप्रति कटाक्ष गरेका छन्।

आइतबार पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखेर जुलुसमा सहभागी भएको प्रसंगप्रति लक्षित गर्दै उक्त स्थितिलाई राजावादी र उनका समर्थकहरुको दयनिय हालतको रुपमा चित्रण गरे।

सोमबार काठमाडौंमा गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी एउटा जुलुस निकाल्नु पर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नु पर्ने दयनिय हालतमा छैनौँ। हामी आफैँसँग विचार छ, आफैसँग नेता छन्, आफैँले विचार दिन सक्छौँ। आफैँले गरेका छौँ हामीले।’

उक्त तस्विरबारे सामाजिक संजालमा सुरु भएको टिकाटिप्पणीको प्रतिरक्षा गर्दै राजाको समर्थनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले उक्त फोटो प्रधानमन्त्री ओली र उनको पार्टीले षडयन्त्र गरी जुलुसमा घुसाइदिएको भनि दिएको प्रतिक्रियाको पनि ओलीले व्यंग्यात्मक प्रतिक्रिया दिए।

शाहीलाई जवाफ फर्काउँदै उनले भने, ‘त्यो आलोचित भयो भने, त्यो त केपी ओलीले मान्छे घुसाएर राखिदिएछ हाम्रोमा!’

उनले थप्दै भने, ‘अँ, त्यो जुलुसै मैले गराइदिएको हो। भयो? फोटो पनि मैले राखिदिया, त्यी गाडी पनि मैले हिँडाइदिया, मोटरसाइकल पनि मैले हिँडाइदिया! कुन राणाजीले जुन त्यो फोटो राख्नु भयो भव्यसँगले बोकेरै हिँड्नु भको थियो। राणाजी पनि मेरो भाइ हो, ठ्याक्कै! मैले गराएको हो। अब चित्त बुझ्यो?’

त्यस्ता खालका कुरा गरेर हिँड्नेहरुप्रति खै के भन्दै प्रधानमन्त्री ओलीले अतित दिनहरु स्मरण गर्दै भने, ‘उहिल्यै त हामीलाई यस्ता काम गर्नै पर्दैनथ्यो। त्यसैले डेमोक्रेसी खोज्दा हामीलाई अत (अराष्ट्रिय तत्व) भन्थे। यो फाल्तु कुराहरुमा असंवैधानिक, अलोकतान्त्रिक, प्रजातन्त्र विरोधी, पद्धती विरोधी, प्रणाली विरोधी, नियमसंगत होइन, बलजफतीवाला।’

शाह वंशीय राजसंस्थाको चर्चा गर्ने क्रममा आक्रोसित बनेका प्रधानमन्त्री ओलीले इतिहासदेखिको घटना कोट्याउँदै भने, ‘यो त बलजफती द्रव्य शाहले सोझा घलेहरुलाई काटेर पुग्ने बेलामा तरबार लिएर आफ्ना मान्छेहरु राखेर छ्यामछ्याम काटेर कुदेर गएर कुसीमा बसेर म राजा भएँ, म कुदेर आएँ भनेर छलछाम गरेर प्राप्त गरेको गद्दी, त्यहाँदेखि छलछाम, दरबार हत्याकाण्ड अस्तिसम्म हामीले सम्झिएका छौँ। यो विभत्सतामा आएका संस्थाहरु र तिनका समर्थकहरुको क्रियाकलाप यस्तै हुन्छ। यसमा धेरै नजाउँ।’

यसरी शाह वंशीय राजसंस्थाको विरोधमा आक्रोस ओकल्दै गएका ओली केही सम्हालिँदै भने, ‘हामीलाई देश बनाउनु छ, हामी देश बनाउने आफ्नो अभियानमा छौँ।’

पछिल्लो समय अमेरिकाको चुनावपछि सत्तामा पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय बमोजिम नेपालबाट विकास सहयाता सम्बन्धी कार्यक्रम स्थगित भएको तर्फ लक्षित गर्दैै उनले विस्तारै बाह्य सहायता अनुदानमा भरपर्ने चलन त्यागेर नेपाल आफ्नै ढंगले आफ्नो तरिकाले अगाडि जानु पर्नेमा जोड दिए।

उनले थप्दै भने, ‘होइन भने युएसएआइडी कति दिनलाई बन्द भएको हो कि, बन्दै हुनलाई बन्द भएको हो कि, अल्लि दिनलाई हो कि? त्यो कुनै पनि समय अर्काले दिनेगरेको त नदिन सक्छ नि। अर्काले दिने गरेको भरमा हामी चल्ने हो भने अर्काले नदिने नीति लिन सक्छ। त्यसकारण नदिँदाखेरि पनि हामी चल्नु त पर्यो नि त। हाम्रो जिन्दगी चल्नु पर्यो, हाम्रो समाज, हाम्रो परिपार्टी चल्नु पर्यो। त्यसकारण हामी आत्मनिर्भरताकासाथ अगाडि बढ्ने बाटो लिनु पर्छ।’

राष्ट्रिय आत्मनिर्भरताकोे बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताएका ओलीले अहिलेको युगमा सबै कुरामा एक्लै चल्ने वा एक्लै आत्मनिर्भरताको कुरा गर्न भने सम्भव नभएको पनि बताए।

उनले आधुनिक विज्ञान र प्रविधिको जमानामा अलिकति प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व बृद्धिसँगै आधुनिकीकरणका लाििग प्रविधिको प्रयोग, सुविधा सहुलियत बृद्धिका लागि प्रविधिको प्रयोगमार्फत विकास र संमृद्धि हाँसिल गर्न सकिने दावी पनि गरे।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update