विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अहिलेको शासन व्यवस्थाविरुद्धको लडाइमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफ्नो सहयोगी बनेर सघाउन आग्रह गरेका छन्।
आइतबार पोखराबाट राजधानी फर्कने क्रममा पूर्व राजाको स्वागत र समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको यात्रामा उपस्थित विभिन्न राजावादी शक्तिका नेता, कार्यकर्तादेखि समर्थकहरुको उपस्थितिबाट एकाएक हौसिएका प्रसाईले मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन्।
उनले पूर्व राजा ज्ञानेन्द्रलाई धैर्य भएर सोच्न आग्रह गर्दै भने, ‘तपाईले यो लडाइमा तपाई सारथी भएर रथ हाँक्नुहोस्, म अर्जुनको भूमिका गरेर बाण चलाउँछु।’
देशको राजनीतिक परिस्थितिबारे चासो र चिन्ता व्यक्त गर्दैै गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिने क्रममा पूर्व राजा ज्ञानेन्द्रले अहिलेको परिस्थितिबाट मुलुकलाई निकास दिन आफूलाई सबैले साथ दिने बेला भएको सार्वजनिक अपिललाई आधार बनाएर पूर्व पञ्च र राजावादीहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका शक्तिहरुले उनको स्वागत र समर्थनमा आइतबारको कार्यक्रममा सहभागी भएका थिए।
तर, विगतमा कहिले तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो साख्खै ‘हजुरबा’ भन्दै त कहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘क्रान्ति नायक’को बिल्ला भिराउँदै उनीहरुबिच पार्टी एकताका लागि चर्चित मार्सी चामलको भात खुवाएको घटनाबाट विशेष चर्चाको केन्द्रमा पुगेका थिए।
त्यसपछिका दिनमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्इ समेत बन्न सफल प्रसाई पछिल्लो समय आफूले मेडिकल कलेज संचालनका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट अरबौँ रुपैयाँ ऋण लिएर भुक्तानी गर्ने बेलामा बैंक म्यानेजरविरुद्ध कालोमोसो दस्ता गठन गर्दै एमाले, माओवादी र कांग्रेसको नेतृत्वसँगै सिंगो व्यवस्थाविरुद्ध सडक प्रदर्शनमा समेत उत्रिएका थिए।
तर, उनले बेलाबखतमा दिँदै आएको सार्वजनिक अभिव्यक्तिका कारण उनलाई केही समयअघि प्रहरीले साइबर क्राइमको आरोपमा पक्राउ गरी धरौटीमा थुनामुक्त भएपछि केहीसमय मौन ब्रतमा बसेजस्तै भएका थिए।
पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको स्वागत र समर्थनमा आइतबार उपस्थित सर्वसाधारण मानिसको प्रदर्शनको जस राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अथवा राप्रपा नेपालका अध्यक्ष कमल थापा कसैको कारण नभई केबल आफू एक्लैको पहलमा भएको दाबी गरे।
त्यतिमात्रै होइन, उक्त प्रदर्शनको जस लिनेक्रममा उनले भने, ‘आज हेनुहोस्, एउटा दुर्गा प्रसाईले सदनमा भएका साथीहरुको त के कुरा गर्नु? हिँजो यो स्थिति ल्याएको त कल्ले भन्दाखेरि सबैभन्दा ठूलो दोष, सबैभन्दा ठूलो फ्रड काम गरेको भनेको राप्रपाले हो।’
संविधान सभाको ०७२ असोज ३ गतेको ऐतिहासिक बैठकबाट जारी भएको नेपालको संविधानको तिथि, मिति समेत नसम्झिएका प्रसाईले थप्दै भने, ‘त्यतिखेर ७२ साल कति गते हो यो संविधान? (पछाडिबाट असोज भनेपछि) असोज ४ गते राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र त्यतिखेरका सांसद राजेन्द्र लिङदेनले साइन गरेको थिएन भने, न राजसंस्था जान्थ्यो, न हिन्दु अधिराज्य जान्थ्यो।’
जब कि नेपालमा राजसंस्था निलम्बन गर्नुका साथै धर्म निरपेक्षताको घोषणा ०६३ जेठ ४ गतेको पुनस्थापित संसदको ऐतिहासिक घोषणाबाट हो भने राजसंस्थाको पूर्णरुपले उन्मूलन ०६५ साल जेठ १५ गतेको जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट भएको थियो।
तथापि प्रसाईले उक्त मितिमा भएको राजनीतिक घटनालाई चटक्कै बिर्सिएर ७२ मा संविधान जारी गर्ने क्रममा भएको घटनाका रुपमा प्रस्तुत गर्दै भने, ‘त्यतिखेर खोलामा लगेर बगाएर समुद्रमा तिलाञ्जली दिने राजसंस्था र हिन्दु अधिराज्यलाई अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए, हामीले गरेको।’
प्रदर्शनका क्रममा भएको सडकको फोहोर तथा अन्य क्षतिबारे काठमाडौं महानगरपालिकाले लगाएको एक लाख जरिवाना राप्रपाले तिरेको विषयमा पनि उनले आपत्ति प्रकट गर्दै भने, ‘नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको, उता गएर हामीले गरेको। अनि चैत १ गतेदेखि आन्दोलन सुरु गरिहालौँ। दुर्गा प्रसाई आउनु पर्यो। हामीसँग मिल्नु पर्यो,’ भनेका बताए।
आफूलाई राप्रपा नेतृत्वले बोलाएको विषयमा आक्रोस व्यक्ति गर्दै भने, ‘उहाँहरुले के सोच्नु भएको छ भने, मलाई त गोठालो जस्तो पो सोच्नु भएछ।’
आफूलाई बोलाउने राप्रपा नेताहरुलाई प्रतिप्रश्न गर्दै उनीहरुले कति जनालाई रोजगारी दिएको छ भनि प्रश्न मात्रै गरेनन् आफूले ५ हजार जनालाई रोजगारी दिएको दाबी गरे।
उनले आन्दोलन गर्नै पर्छ भने आफू राजासँग मिलेर गर्ने तर, राप्रपा लगायतका नेताहरुलाई गोठालाको संज्ञा दिँदै ‘म गोठालाहरुसँग गएर सडकमा गएर नाटक देखाउँदिन। यो कुरा सबैजनालाई हेक्का रहोस्, क्लियर होस्, म कसैको गोठालो होइन।’