नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान बिपरितका गतिविधि भइरहेको आरोप लगाएको छ।
मंगलबार प्रतिनिधि सभाको आकस्मीक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागीताका साथै निर्देशन र उक्साहटमा समाजमा संविधान बिपरितका गतिविधि भइरहेको आरोप लगाएका हुन्।
नेपालको संविधानको धारा ५ ले राष्ट्रहित प्रतिकूल मानिने गतिविधिलाई दण्डनिय हुने व्यवस्था गरेको उल्लेख गर्दै सांसद बर्तौलाले भने, ‘पछिल्लो समय केही दिन यताका गतिविधिहरु हेर्ने हो भने पूर्व राजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधान विपरितका कार्यहरु भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने खालका संविधान विरोधी गतिविधि र क्रियाकलापहरु भइरहेका छन्। यी सबै कामहरु गर्न पूर्व राजा ज्ञानेन्द्र शाह स्वयंले उक्साहीरहेका छन्। उनी स्वयंले आफ्नो उपस्थितिमा यी सबै कामहरु गरिरहेका छन्।’
मुख्य सचेतक बर्तौलाले त्यसका अतिरिक्त पूर्व राजाको स्वागतमा उपस्थित समर्थकहरुले भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटोसहितको व्यानर र पोष्टर लिएर प्रदर्शन भएको भन्दै उनले ‘यो हाम्रो संविधान बमोजिम राष्ट्रहित प्रतिकूलको कार्य हो। तदअनुसारको व्यवहार हो’ भन्दै उनले यस्ता कार्यहरुलाई कानूनको दायरामा ल्याउन सरकारले गम्भीरतापूर्वक नोटिसमा राखेर काम गर्न पर्ने बताए।
साथै उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै लोकतन्त्रको विकल्प निरंकुश तन्त्र हुन नसक्ने दाबी गर्दै संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरिपनि हुकुम प्रमाङ्गीका माध्यमबाट देश चलाउँछु भन्ने दिवास्वप्न देख्ने वा देख्न लगाउने कार्य सम्भव नभएको बताए।