नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान बिपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै महामन्त्री एवं कांग्रेस सांसद थापाले लामो संघर्ष र बलिदानबाट मुलुकमा प्राप्त परिवर्तनबिरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान बिपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताए।
बिभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
संविधान र लोकतन्त्रप्रति माओवादी अध्यक्ष प्रचण्डले राखेको प्रतिबद्धता सकारात्मक भएको भन्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताकासाथ उभिएको धारणा राखे।
महामन्त्री थापाले सत्तामा आफू रहुँदा सबै कुरा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए।
उनले संविधान निर्माण गर्ने दलहरु नै संबिधानमा रहेका व्यवस्थाका बिषयमा बिभाजित हुनु उचित नभएको भन्दै एक अर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्थलाई बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्ने उनले बताए।
साथै उनले संविधानमा देखिएका कतिपय कमिकमजोरी संशोधन गर्नुअघि आफूहरुले सदनभित्र रहेका सबै दलदेखि यसका पक्षधर र नागरिक समाजसँग पनि परामर्श गरेर अझै बढी सुधार ल्याउन तयार रहेको बताए।
त्यस्तै थापाले बिभिन्न प्रकरणका बिषयमा सदनमा उठेको भन्दै राज्यले गरेका अनुसन्धानमा असन्तुष्टि वा अविश्वास भए छानविन समिति बनाउन छलफल गर्नुपर्ने उल्लेख गरे।
उनले सरकारले पनि देश र जनतामा केन्द्रीत भएर काम गर्नुपर्ने र जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए।
साथै उनले नयाँ पुस्ताका युवाहरुलाई कसैको बहकाउमा नलागेर विगतको इतिहासका पानाहरु पल्टाएर यथार्थ जानकारीका आधारमा आफ्नो धारणा बनाउन पनि आग्रह गरे।