नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको विश्वसनियता सकिएका कारण पूरातनवादी शक्तिहरु हौसिएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका दाहालले सरकारको बेथिति र असफलताले व्यवस्थाप्रति मोहभंग भएको र त्यसका कारण देखिएको असन्तुष्टिका कारण पूरातनवादी शक्तिहरु हौसिएको बताए।
दाहालले सरकार असफल भइरहेको र पूरातनवादीले समेत प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिरहेकाले सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध जुध्नु पर्ने विशिष्ट अवस्था सृजना भएको जिकिर गरे।
राजावादीको चहलपहलको पछाडी देशभित्र र बाहिरका संगठीत चलखेल देखिएको उनले बताए।
संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न उनले चेतावनी समेत दिए।
उनले लोकतन्त्रभित्र आफ्नो ठाँउ खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए।
आफु ८ महिना अघिसम्म सरकारका रहदा नदेखिएको असन्तुष्टि अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले बताए।
दाहालले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको भन्दै सरकारलाई विचौलियाले चलाइरहेको आरोप समेत लगाए।
दाहालले सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई कति स्पेश दिइएको छ भन्दै प्रश्न समेत गरे।
संसदीय परम्परा र अभ्यास अनुसार, प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिएर बोल्न उपस्थित रहँदा प्रधानमन्त्री उपस्थित हुने गरेपनि पछिल्लो समय आफूले बोल्न लाग्दा निरन्तर अनुपस्थित रहनु कुण्ठा हो की घमण्ठ हो भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे।
दाहालले सहकारी ठगी तथा संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको भनेपछि रविको पार्टीका सदस्यहरुले ताली बजाएर समर्थन जनाएका थिए।
आफ्नो कार्यकालमा महत्वपूर्ण विधेयक ल्याएपनि अहिले सरकारकै कारण अघि बढ्न नसकेको आरोप समेत उनले लगाए।