समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने निर्णय गरेको छ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत्र १५ गते बृहत जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
देशको परिस्थिति जटिल बनाउने प्रयास भइराखेकाले गणतन्त्र पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको उनले जानकारी दिए।
त्यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत्र २ गते शनिबार बिहान ११ बजे अन्तरक्रिया गर्ने र छलफल सकिए लगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिने तय भएको उनले बताए।
बैठकले संसदवादी दलहरु र बाहिर रहेका राजनीतिक दल र नेताहरुसँग छलफल गर्ने, राष्ट्रियताको स्वाधिनता र गणतन्त्र रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल अघि बढाइने निर्णय भएको विश्वकर्माले जानकारी दिए।
बैठकले राजावादीहरुको सक्रियता मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ।