
कीर्तिपुर नगरपालिका वडा नम्बर–४ गाम्चा टोल निवासी श्रीकृष्ण महर्जन जसलाई स्थानीय बासिन्दाहरुले बोलाउँदा श्री अथवा श्री दाई भनेर बोलाउने र नचिन्ने बिरलै होलान्।
उमेरले ५० काटी सकेका अत्यन्त सरल मिजासका श्री जो विगतमा परिवारको भविश्य खोज्दै केही समय विदेश बसेर फर्किएपछि आफ्नै बलबुतोमा ट्याक्टर किने। त्यो पनि ढुवानीका लागि होइन। स्थानीयबासीहरुको खेत, बारी र करेसाबारी खनजोत गरी परिवारको गर्जो टार्न।
जसले जतिबेला बोलाएपनि सहजै पुगेर खनजोत गरिदिने मात्र होइन, कसैले जोतेको पैसा अहिले छैन भन्दा पनि कहिले दिने सम्म पनि नभनि मुण्टो हल्लाएर नेवारी भाषा बुझ्नेलाई ‘का’ र नबुझ्नेलाई ‘हस्’ भन्दै फर्किन्थे।
पछिल्लो समय स्वास्थ्यमा केही समस्या देखिएपछि ट्याक्टर चलाउने काम छाडेका श्रीकृष्णको एउटै साहारा थियो, उनको २९ वर्षीय छोरा सविन। जसले बल्खुबाट हेटौडा लगायत उपत्यका बाहिर चल्ने टाटा सुमो चलाएर बाबु, आमा र आफ्नी श्रीमती भविषासँगै ६ वर्षीया छोरी सुविषाको पालन, पोषण गर्दै र उनीहरुको आड भरोषाको आधार बन्दैआएका थिए।
निम्नमध्यम वर्गीय परिवारमा जन्मिएर दुःखम्सुखम् परिवारको लालन, पालन गर्दै आएका सविन शुक्रबार बिहानको खाना खाएपछि परिवारका सदस्यहरुलाई आफ्नो गाडी बिग्रीएर बल्खुमा राखेको र त्यसको मर्मतका लागि ग्यारेज जानुछ भन्दै घरबाट निस्किए।
तर, बल्खु आएपछि गाडी ग्यारेजमा बनाउन दिएपछि कोसँग कता गए परिवारलाई पत्तो हुने कुरै भएन।
त्यसमाथि राजनीतिमा कुनै चासो र साइनो नै नराख्ने सविन राजावादीहरुको समर्थनमा तीनकुनेको प्रदर्शनमा पुगे होलान् भन्ने कल्पना कसले नै गथ्र्यो र।
तर, साँझ पर्दानपर्दै सामाजिक संंजालदेखि मिडियामा एउटा हल्ला फैलियो, कि पूर्व राजावादीहरुको तीनकुने केन्द्रित आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर कीर्तिपुरका एक युवकको निधन भयो।
नभन्दै गृहमन्त्रालयका प्रवक्ताले साँझ पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी दिँदै भने, ‘आज तीनकुनेको प्रदर्शन हिंसात्मक र अराजक बन्दा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर घाइते भएका कीर्तिपुर नगरपालिका ४ निवासी २९ वर्षीय सविन महर्जनको निधन भएको छ।’
उक्त समाचारको पुष्टि पश्चात अहिले कीर्तिपुर नगरपालिका विशेषगरी ४ नम्बर वडा गाम्चा त शोकमा डुबेकै छ। गाम्चा वरपरका स्थानीय टोल सल्यानस्थानदेखि झुलपोखरी, टुसाल, मच्छेगाउँ, बस्नेत गाउँ, दूधपोखरी र भत्केकोपाटी आसपासका बासिन्दा पनि शोकमा डुबेका छन्।
उनीहरुमध्ये सायद धेरैजसोले सविनलाई नचिनेको पनि हुनसक्दछन्। तर, अति सरल मिजासका श्रीको छोरा पो परेछ भन्ने थाहा पाएजतिले शुक्रबार रातीदेखि शनिबार बिहान हुन नपाउँदै उनको घरमा नपुग्ने बिरलै छन्।
श्रीको परिवारमाथि परेको अकल्पनीय बज्रपात आफ्नै मन र मुटुमा परेको चोट सरह लिँदै आँखाका परेलीमा अडिन नसकेका आँसुका ढिक्का खसाल्दै उनीहरु श्रीसँगै सविनकी श्रीमती र छोरी सुविषालाई सकिनसकी सान्त्वना दिने कोशिश गरिरहेका छन्।
तथापि स्वास्थ्य अवस्थाले धोका खाएका श्री मात्र होइन, यति लामो जिन्दगीको यात्रा सविनसँगै मिलेर अघि बढाउँदै सगैँ जीउने र हुर्कँदै गरेकी सुविषालाई राम्रो शिक्षा, दिक्षा दिने सपनाको श्रीसम्पत्ति बोकेर बसेकी भविषा र अवोध बालिका सुविषाको सपना शुक्रबारको दुःखद घटनाले चकनाचुर पारिदिएको छ। जीवनमा कहिल्यै नमेटिने घाउको रुपमा गढेर गएको छ।
आफ्नो पृय अनुजको निधनमा मर्माहित बनेका उनका काका किरण जसले पछिल्लो अप्रिय घटनापछि निम्तिएको अवस्थालाई चाहेर÷नचाहेर सामना गर्नुको विकल्प नदेखि समन्वयको प्रयास गरिरहेका छन्।
किरणसँगै उनको परिवार र आफन्तजनले अब जेजति गरेपनि सविन फर्किन अवस्था नभएको स्थ्तििमा यस्तो दुःखद घटना अरु कसैलाई पनि नपरोस् भन्ने पुुकारा गर्दैछन्। र कमसेकम उक्त घटनाबारे सत्यतथ्य छानविन गरी सविन र उनको परिवारलाई राज्यले न्यायोचित व्यवहारसँगै सविनको परिवार र उनकी टुहरी छोरी सुविषाका लागि यो राज्यले अविभावकीय भूमिका निर्वाह गरिदिए हुन्थ्यो भन्ने झिनो आशा राखिरहेका छन्। के उनीहरुको याचना सुन्ला त यो राज्य र राज्यका मसिहा हौँ भन्नेहरुले?