हिमाल दैनिक
प्रतिपक्षीको अवरोधको प्रतिवादमा सत्तापक्ष उत्रिएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

कुलमान घिसिङको निस्काशनको विरोधमा बिपक्षी दलका सदस्यहरुले प्रधानमन्त्रीको जवाफ खोज्दै चैत १३ गतेदेखि सुरु गरेको संसदको अवरोधले आइतबार पनि निरन्तरता पाएपछि आजको प्रतिनिधि सभा बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरुबिच जुहारी चलेको छ।

आइतबार ११ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक केही ढिला गरी सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यहरुले आफूहरुको माग बमोजिम नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग्दै आएपनि प्रधानमन्त्रीले सदनलाई वेवास्ता गरेको भन्दै उठेर विरोध जनाए।

सभामुख देवराज घिमिरेले विपक्षी दलका सदस्यहरुको माग बमोजिम प्रधानमन्त्रीले सोमबारको बैठकमा जवाफ दिने तय भइसकेको जानकारी दिँदै आजको बैठकको कारबाही अघि बढाउन सदनको अवराध हटाउन निरन्तर आग्रह गरेपनि बिपक्षीले सदनमा अवरोध सिर्जना गरेपछि सत्तापक्ष सांसदहरु आक्रोशित भएका थिए।

सो क्रममा बिपक्षी र सत्तापक्ष सांसदबीच भनाभन भएको थियो। त्यस्तै सत्तापक्ष सांसदहरुले राजावादीको प्रदर्शनमा जनता मारिएको भन्दै बोल्न पाउनुपर्ने माग राखेपछि राप्रपाका सांसद आक्रोशित भएका थिए।

दुईपक्षबीच अहसज अवस्था सिर्जना हुने देखिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

यसैबीच आइतबार संसद भवनमा पत्रकारहरुलाई समेत कडाइ गरेको छ भने संसदको प्रत्यक्ष प्रसारण समेत प्रभावित भएको छ।

संसद सचिवालयले आजको बैठकमा अन्य केही विधेयकका अतिरिक्त राज्य व्यवस्था तथा सुशासन समितिबाट सझावसहित पठाएको बहुप्रतिक्षित संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनबाट पारित गराउने तयारी रहेको थियो।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update