हिमाल दैनिक
गठबन्धन सरकारको औचित्यमाथि कांग्रेस नेता काेइरालाकाे प्रश्न!

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको देशको परिस्थीति अत्यन्तै नाजुक रहेको भन्दै यसप्रति समयमै गम्भीर भएर सोच्नु पर्ने बताएका छन्।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको कात्रोमा खल्ती अनाख्यानको लोकार्पण कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिक लगाएतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए।

साथै उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका भन्दै हरेक तह र तप्काका बिचौलियाले मुलुक आक्रान्त बनेको बताए।

कोइरालाले कांग्रेस–एमालेबीच सरकार गठन गर्नुपूर्व जुन कल्पनाका साथ सहमति भएको त्यसअनुरुप मुलुकको राजनीति अघि नबढेको बताए।

यसको व्याख्या गर्दै उनले भने, ‘त्यो कल्पना के थियो? भन्दा संविधानमा सुधार गर्ने भनेर भनिएको थियो। संविधान पनुर्लेखन त भनिएको छैन, सुधार गर्ने भनिएपनि आज ९ महिना बितिसक्दा पनि त्यतातिर हामीले ध्यान पुर्याउन सकेका छैनौँ।’

उनले संविधानमा रहेका कमिकमजोरी केलाएर के कति विषयवस्तुमा सुधार र संशोधन गर्नु पर्ने हो त्यो गर्न पर्ने बताए।
जताततै विचौलियाको बिगबिगी भएको भन्ने सन्दर्भमा उनले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेल सुरु भएको कुरा आएको भन्दै यदि बिचौलियाको चलखेलका आधारमा गभर्नर नियुक्त भयो भने सरकारका लागि त दुर्भाग्य हुन्छ नै नेपालकै लागि पनि दुभाग्र्य हुने चेतावनी दिए।

गभर्नर नियुक्तिको विषय अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै यति गम्भीर विषय र देशका अर्थतन्त्रसंग खेल्ने अधिकार वा छुट कसैलाई नरहेको उनले बताए।

कोइरालाले मुलुकमा सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनिकरणको प्रतिबद्धता व्यक्त गर्दै बनेको वर्तमान सरकारको पछिल्लो कार्यकालमा सुशासन र भ्रष्टाचारको घटनाबारे धेरै बोलिरहनु नपर्ने भन्दै कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको बताए।

सरकारको कार्यशैली र गतिविधिका आधारमा वर्तमान गठबन्धनको सरकारले औचित्य सावित गर्न पनि नसकेको आरोप उनले लगाए।

यसका बाबजूद पनि मुलुकको संकटबाट पार लगाउन कोइरालाले राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने दाबी पनि गरे।

 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update