सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेश उच्च अदालतबाट बदर भएलगत्तै प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ।
बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको आरोपसँगै संगठित अपराधमा संलग्न भएको आरोप लागेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोमबार थुनुवा पुर्जी थमाएर कारगार पठाएको हो।
तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशकको अतिरिक्त उक्त कम्पनीको प्रमुख संचालकमध्ये एक लामिछानेसहितको समूहले बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकागीको रकम गैरकानूनी रुपमा मिडिया कम्पनीमा लगानी गर्नेदेखि व्यक्तिगत खातामा स्थानान्तरण गरेको आरोपमा प्रहरी अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देहीमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दामाथि थुनछेकको बहसका क्रममा जिल्ला अदालतले लामिछानेसँग १ करोड रुपैया धरौटी लिएर रिहा गर्न दिएको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा पुनरावेदन गरेको थियो।
यसका अतिरित्तः लामिछाने स्वयंले पनि आफूविरुद्ध जिल्ला अदालतले तय गरेको धरौटी रकम ज्यादा भएको भन्दै रिट दायर गरेका थिए भने, उनका व्यवसायिक साझेदार छविलाल जोशीले आफूलाई धरौटीमा नछाडी थुनामा पठाएको भन्दै जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएका थिए।
उक्त रिट निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई पनि जोशीसँगै थुनामै राखेर मुद्दाको छिनोफानो गर्न आदेश दिएको थियो।
उच्च अदालतको आदेश लगत्तै काठमाडौंस्थित निजी निवासबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी शनिबार भैरहवा लगेको थियो। शनिवार र आइतबार सार्वजनिक विदा परेको कारण जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई आज मात्रै सरकारी कार्यालय खुलेलगत्तै जिल्ला अदालतमा पुर्याएको थियो।
उच्च अदालतको आदेश बमोजिम जिल्ला अदालत रुपन्देहीले निज लामिछानेलाई थुनुवा पुजी दिएर थुनामा पठाएको हो।
आफ्ना व्यवसायिक साझेदार गितेन्द्रबाबु (जिबी) राईसँगको मिलोमतोमा लामिछाने र जोशी सहतिको समूहले पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, बुटबलको सुप्रिम तथा वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ बचत हिनामिना, संगठित अपरात तथा सम्पत्ति सुद्धिकरणको आरोपमा प्रहरीको नियन्त्रणमा लामिछाने र जोशी लगायतका व्यक्ति परेका थिए।
तर, गोरखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष राई भने उक्त मुद्दाको विषयमा हल्ला चल्नासाथ फरार भएका थिए। उता लामिछाने, जोशी लगायतका आरोपितहरुलाइृ भने प्रहरीले पोखरा, काठमाडौं, चितवन र बुटबलका सहकारीको रकम अपचलन लगायतको विषयमा पक्राउ गरी मुद्दा दायर गरेकोमा ठूलो मात्रामा धरोटी लिएर थुनामुक्त गरिदिएको थियो। वीरगञ्जको सानो पाइलाको विषयमा भने प्रहरीले अहिलेसम्म पनि उनीहरुविरुद्ध रिट दायर गर्ने प्रक्रिया अघि बढाएको छैन।