हिमाल दैनिक
भैरहवा कारागारका ५ सय ९४ कैदीबाट अलग्गै ब्लकमा राखियो रवि लामिछानेलाई!

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले शुक्रबार दिएको आदेश बमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो।

बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो।

त्यसलगतै लामिछानेलाई शुक्रबार नै प्रहरीले काठमाडौंबाट पक्राउ गरि रुपन्देही पुर्याएको थियो।

लामिछानेलाई स्वास्थ्यपरिक्षण गरि कारागारको ब्लक नम्बर ४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए।

सोमबारको मितीसम्म उक्त कारागारमा ५९४ जना कैदी÷बन्दी रहेका भएपनि सहकारीको बचत ठगी लगायतका मुद्दामा थुनामा रहन पुगेका लामिछानेलाई राखिएको ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने जानकारी भण्डारीले दिए।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले समेत उच्च अदालतमा निवेदन दिन पुगेका थिए भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो।

उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारीको रकम हिनामिना गरेको आरोपमाथिको वयानाका क्रममा लामिछाने दिएको प्रतिउत्तरमा विश्वास गर्ने आधार नदेखिएको भन्दै मुद्दाको अन्तिम फैसला नआउँदासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update