
राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा गर्न लागेको आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहितका शीर्ष नेताहरु कार्यक्रमस्थल बल्खु पुगिसकेका छन्।
वर्तमान व्यवस्था र अवस्था दुबै बदल्ने उद्घोषका साथ राप्रपाले आयोजना गर्न लागेको सभास्थलमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्तादेखि सर्वसाधारण समर्थकहरुको उपस्थितिमाझ सम्बोधन गर्न उनीहरु अहिले अपरान्ह कार्यक्रमस्थलमा पुगेका हुन्।
राजसंस्थाको पुनस्र्थापना र हिन्दु राज्यको घोषणाको माग गर्दै विगत केही समयदेखि सडक प्रदर्शनको तयारीमा रहेको राप्रपाले चैत १५ गतेको तीनकुनेमा आयोजित विरोध प्रदर्शनको हिंसात्मक परिस्थिति र त्यसले निम्त्याएको संकटलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई आजको कार्यक्रम बल्खुमा गर्न भनेको थियो।
सोही मुताबिक राप्रपाले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिँदै सरकारी सुरक्षा निकायसँग पनि समन्वय गरी अघि बढेको छ।
यसबारे राप्रपाको सोमबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भत्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाइ रोक्न हजारौं स्वयंसेवक खटाइने बताएका थिए।
उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाँउको ठाँउ कारवाहीको व्यवस्था मिलाएको जानकारी पनि दिएका थिए।
यसैबिच जिल्ला प्रशासन कार्यालयले कार्यक्रमस्थलको सुरक्षाका लागि ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरेको छ।
उनले राप्रपाले आयोजना गर्न लागेको आमसभामा सहभागी हुन अपिल गर्दै आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफुहरुको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफुलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी पनि दिएका थिए।