विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन्।
सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका हुन्।
काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेका छन्।
विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी भएका छन्। मंगलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरुले यसअघि आफुहरुसंग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन्।
लामो समयदेखि सरकारले शिक्षकहरुको माग पुरा नगरेकाकारण बाध्य भएर आफूहरु आन्दोलनमा सहभागी हुनुपरेको उनीहरुको भनाइ छ।
महासंघले आफुहरुको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ।
प्रदर्शनकारीहरुले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगाएतका नारा लगाएका थिए।
विद्यालयका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरि वार्ताको माध्यमबाट समस्याको सामधान खोज्न आग्रह गरिसकेका छन्।