हिमाल दैनिक
सबैको सहमति र आवश्यकताका आधारमा उपयुक्त समयमा संविधान संशोधन हुन्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने जानकारी दिएका छन्।

मंगलबार मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने बताएका हुन्।

उनले संविधान कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाइने पनि उल्लेख गरे।

प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन नहुने भन्दै उनले देश र जनताको आवश्यकताका आधारमा सबैको सहमतिमा संशोधनको प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।

गत वर्षको असारमा तत्कालीन एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ७ बुँदे सहमति गर्दै तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली नेतृत्वमा कांग्रेससहितको सरकार गठनको सहमति भएको थियो।

जसमा दुई प्रमुख दलका शीर्ष नेताहरुले सहमतिको चौथो बुँदामा संविधान संशोधनको विषयवस्तु राखिएको थियो। 

सहमतिको ७ महिनापछि पनि संविधान संशोधनको विषयले प्राथमिकता नपाएपछि कतिपय विपक्षी दलका नेतादेखि स्वयं सत्तापक्षकै नेताहरुले पनि सरकारको ध्यानाकर्षण गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजिएको भन्दै नयाँ पुस्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए।

उनले राजावादीले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे।

गणतन्त्र नेपालको वर्तमान र भविष्य भएको भन्दै उनले प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा भएको जिकिर गरे।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गरे।

मुलुकको वर्तमान प्रणालीअन्तर्गत संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्न नहुने उनले बताए।

ओलीले अहिलेको प्रणालीको रक्षाका लागि नै दुई ठूला दल एकै ठाँउ आउनुपरेको उल्लेख गरे।

उनले संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको बताए।

प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।

 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update