हिमाल दैनिक
बल्खु पुगेर लिङदेनले भनेः भृकुटीमण्डपमा कार्यक्रम गर्दा धरापमा पर्ने गणतन्त्र कति कमजोर रहेछ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द् लिङदेनले आफूहरु कमजोर भएकै कारण भृकुटी मण्डप छाडेर बल्खुमा कार्यक्रम गर्न नगएको दाबी गरेका छन्।

राप्रपाले विभिन्न मागहरु राख्दै मंगलबार आयोजना गरेको आमसभालाई राजधानीको बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले राप्रपालाई भृकुटी मण्डपमा कार्यक्रम गर्न दिँदा धरापमा पर्ने गणतन्त्र कति कमजोर रहेछ भनि विश्व समुदायलाई देखाउन पनि बल्खुमा कार्यक्रम गर्न आएको बताए।

साथै उनले आफूहरुलाई कमजोर नठान्न चेतावनी दिँदै यदि वर्तमान राज्यसत्ताले आफ्ना कुरा नसुने सिंहदरबार र बालुवाटारमा नाकाबन्दी गरिदिन सक्ने चेतावनी पनि दिए।

लिङदेनले लोकतन्त्रको नाममा गरेको लुटतन्त्र गरेको आरोप लगाउँदै यसविरुद्ध आफ्नो दल र नेता, कार्यकर्ता शान्तिपूर्ण विद्रोहमा उत्रने र यो सत्ता ढलाएर यसअघि भएको सबै भ्रष्टचारका घटनाका दोषीमाथि कारबाही गर्ने धम्की दिँदै अहिलेदेखि नै जेल सुविधासम्पन्न बनाइराख्न सुझाव दिए।

तत्कालीन माओेवादीले ५२ सालमा हिंसात्मक युद्धमा जानुअघि भन्दा अहिलको राप्रपाका नेता, कार्यकर्ता बढी भएको भन्दै यदि आफूहरुलाई बिद्रोहमै जाओस् भनि चाहेको भए त्यसका लागि पनि तयार भएको बताए।

चेत १५ गतेको तीनकुने घटनामा वर्तमान सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीको प्रमुख दोषी भएको भन्दै उक्त घटनाको आरोपमा पक्राउ परेका सबैलाई रिहा गरी निश्पक्ष छानविन आयोग गठनको माग गरे।

उनले आफ्नो पार्टीले विगत लामोसमयदेखि राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना र संघीयताको खारेजीको माग गर्दै आएको भन्दै आफूहरुले निरंकुश राजतन्त्र नभई राजसंस्थालाई अविभावकीय संस्थाको रुपमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीको पक्षमा रहेको बताए।

साथै उनले सरकारको स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको दुई कार्यकालका लागि मात्रै निर्वाचित हुन पाउने व्यवस्था गरेमात्रै ह्याल, सिंगान चुहिने र आर्यघाट नपुग्दासम्म पद ओगटीरहने प्रवृत्तिको अन्त्य गर्न चाहेको बताए।

उनले नेपालको पहिचानका लागि हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्दै आएको बताए।

आफूले वडातहदेखि देशको उपप्रधानमन्त्रीसम्म बन्न पाएको भन्दै यो अवधिमा अहिलेसम्म एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भनि जुनसुकै मन्दिरमा प्रवेश गर्न सक्ने दाबी पनि उनले गरे।

वर्तमान अवस्थामा भ्रष्टाचार गर्ने नेताहरुकै नियुक्ति र रोजाइमा अख्तियारदेखि अदालत समेतमा भर्ती गरेकै कारण भ्रष्टाचार नियन्त्रण र कारबाही गर्न नसक्ने दाबी पनि उनले गरे।

यसैगरी उनले अहिलेको निर्वाचन प्रणालीमा समस्यै समस्या रहेको भन्दै आफूहरुले नेतृत्व परिवर्तनसँगै व्यवस्था र अवस्था परिवर्तनको पक्षमा रहेको बताए।

साथै उनले अहिलेका प्रमुख तीन दलका शीर्ष नेताहरु केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पाँच वर्ष होइन, २५ वर्षको समय दिएपनि देशको उन्नती नहुने भन्दै आम जनताले राप्रपाको अभियानलाई साथ दिएर उनीहरुलाई विदा गर्न ढिला गर्न नहुने बताए।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update