हिमाल दैनिक
रवि लामिछानेको पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै रास्वपा मानवअधिकार आयोगमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छन्।

बुधबार रास्वपाका नेताहरु ललितपुरस्थीत आयोगको कार्यालय पुगेर सामान्य प्रक्रिया समेत पुरा नगरी लामिछानेलाई ज्यादतीपूर्ण ढंगले पक्राउ गरेको र सो क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भएको भन्दै निवेदन दर्ता गराएका हुन्।

रास्वपाले लामिछानेलाई पक्राउ गर्दा भएको मानव अधिकारको उल्लंघनको घटनाको छानविन गर्दै दोषीलाई कारवाही गर्न समेत माग गरेको छ।

रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले सामान्य प्रक्रिया पुरा नगरि अभद्र व्यवहार र धरपकडसहित लामिछानेलाई पक्राउ गरेको भन्दै छानविनका लागि आयोगमा निवेदन दर्ता गरिएको जानकारी दिए।

राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गरेकाले छानविन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उनले बताए।

त्यस्तै बिना अनुमति लामिछानेको घर पुगेर अभद्र व्यवहार गरेर प्रहरीले मानवअधिकारको गम्भीर उलंघन गरेको रास्वपाले जनाएको छ।

रास्वपाको ध्यानाकर्षण र निवदेन बुझ्दै मानवअधिकार आयोगका अध्यक्षले उक्त घटनाको छानविन गर्ने र आवश्यक कामकारवाही अघि बढाउने प्रतिवद्धता जनाएको बुर्लाकोटीले जानकारी दिए।

रास्वपा सभापति लामिछानेले पार्टी गठनगरी राजनीतिमा सक्रिय हुनुअघि चर्चित र विवादित पात्र गितेन्द्रबाबु (जीबी) राई र नेपाल प्रहरीका पूर्व नायवनिरीक्षक (डिआइजी) छविलाल जोशी लगायतका समूहसँग मिलेर संचालन गरेको गोरखा मिडिया नेटवर्क प्रा.लि.मा पोखरा, चितवन, बुटबल, काठमाडौं र वीरगञ्जका पाँच वटा बचत तथा ऋण सहकारीको बचत गैरकानूनी ढंगले दुरुपयोग गरेको आरोप लागेको थियो।

रविसँग रहेका दुई विकल्पः कि सहने, कि त बुझाउँने

जसमध्ये पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा बचत तथा ऋण सहकारीको बचत ठगी प्रकरणमा धरौटीमा रिहा भएपनि बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिना तथा संगठित अपराधको मुद्दामा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले केही समयअघि एक करोड रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयका अतिरिक्त लामिछाने स्वयंले पनि उच्च अदालत तुलसीपुर बुटबल शाखामा दिएको रिट निवदेनमाथिको सुनुवाईपछि गत शुक्रबार उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई हिरासतमै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो।

अदालतको आदेश लगत्तै काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लामिछानेलाई शुक्रबार राती नै पक्राउ गरी शनिबार भैरहवा लगेको विषयमा लामिछाने र उनको पार्टीका नेता, कार्यकर्ताले लामिछानेको पक्राउ प्रक्रियामा प्रश्न उठाउँदै आएका छन्।

प्रहरीले अदालतको आदेश रितपूर्वक पक्राउ गर्नु पर्नेमा हठात र बलजफती लामिछानेलाई उनको घरमै परेर राती पक्रउा गरेको भन्दै विरोध जनाएपनि पार्टी गठन गर्नुअघि उनले व्यक्तिगत लाभका लागि चलाएको व्यवसाय र त्यसले सर्वसाधारण बचतकर्तामा पारेको नकारात्मक असरबारे भने कुनै चासो दिइरहेका छैनन्।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update