नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।
सत्तारुढ दल र प्रतिपक्षी दल निकट कानून व्यवसायीहरुको प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन।
बिहिबार सम्पन्न मत मतगणनाको अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाएर पराजित भए।
नेपाली कांग्रेस निटक लोकतान्त्रिक कानून व्यवसायीसँगै एमाले निकट प्रगतिशिल कानून व्यवसायीको प्यानलबाट पुरै टिमलाई विजयी गराएर अध्यक्षमा निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए।
स्वतन्त्र न्यायपालीकाको वास्तविक रुपमा स्थापीत गर्न र स्वच्छ न्यायपालीकाको स्थापनाका लागि पहल गर्ने उनले बताए।
मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि प्रयाप्त अवसरको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्र गरे।
उनले संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्याउने बताए।
त्यस्तै बारको उपाध्यक्षमा मिश्रकै प्यानलबाट कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन्।
त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ बिजयी भएकी छन् भने महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जगतबहादुर कार्की बिजयी भएका छन्।
नेकपा माओवादी केन्द्र निकट कानून व्यवसायीका रुपमा परिचित श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी निकट कानून व्यवसायीले साथ र समर्थन जनाएपनि उनीहरुले कुनै पनि स्थान सुरक्षित राख्न सकेनन्।