हिमाल दैनिक
गगन थापाको प्रश्नः निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउने पूर्वराजाले नारायणहिटी पुगे के गर्लान?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजालाई कसैैले पनि धोएर वा जति सफा गरेर धोयो भनेपनि उसलाई संवैधानिक बनाउन नसक्ने ठोकुवा गरेका छन्।

पछिल्लो समय वर्तमान संविधान र व्यवस्थाको विरोध गर्दै राजसंस्थाको पुनर्बहालीको माग लिएर पूर्वराजावादी तथा गणतन्त्र विरोधी शक्तिहरु सडक आन्दोलनमा उत्रिरहेकै बेला बिहिबार कांग्रेस महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर २ को दोस्रो प्रदेशे सम्मेलनमा बोल्दै कांग्रेसको अनुभवका आधारमा यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘हाम्रो लामो अनुभवले के भन्छ भने, नेपालको राजालाई कसैले पनि धोएर, जति सफा गरेर धोयो भनेपनि उनलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन। नेपाली कांग्रेस पार्टीले लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो।’

राजवादीहरुले गरेको चैत १५ गतेको तीनकुने घटना र त्यसको पर्दाभित्रबाट पूर्व राजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘निर्मल निवासमा बस्दाखेरि त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईलाई खोजेर ल्याएर!’

राजसंस्था र हिन्दुधर्मको पुनस्र्थापनाका लागि तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित जनआन्दोलन परिचालन समिति गठनबारे लक्षित गर्दै उनले थपे, ‘हाम्रै क्षेत्र (निर्वाचन क्षेत्र नम्बर ४, काठमाडौ)मा बस्नुहुन्छ नवराज सुवेदी। उहाँले त भोट पनि हाल्नु भएको जस्तो लाग्दछ, मलाई। उहाँ सुतेर बसेको नवराज सुवेदी, राजालाई गाली गरेर किताब लेख्दै थिए, अस्तिसम्म, खोजेर ल्याएर निर्मल निवासमा बस्दैगर्दा यस्तो उत्पात मच्चाएकोले, अहिले नारायणहिटीमा भएको भए के गर्थे होलान?’

वर्तमान संविधान, व्यवस्था र प्रणालीको विरुद्धमा र राजतन्त्रको पक्षमा वकालत गर्दै आएका र त्यसको नेतृत्वकर्तालाई ‘मुर्ख लम्पट’को संज्ञा दिँदै त्यस्ता मुर्ख र लम्पटहरुले हो कि हो की जस्तोगरी बोले भनेर कांग्रेसहरुले समर्थन जनाउन मिल्छ भनि प्रतिप्रश्न गरे।

साथै उनले आफूहरुले राजा र राजसंस्थाको अनुभवबाट यो अवस्थामा आएको भन्दै यो देश जनताले छानेर पठाएका जनप्रतिनिधिहरुले चलाउन सक्षम रहेको बताए।

उनले जनताले लामो संघर्ष र बलिदानबाट ल्याएको गणतन्त्र, संविधान र व्यवस्थामा कहिँ कतै कमजोरी भए त्यसलाई सच्याउँदै, मुलुक र जनताको हितमा काम गर्नु पने बताए।  

साथै उनले संविधान जारी भएलगत्तै संसद र सरकारले गर्नु पर्ने कतिपय कानुन संशोधनसँगै आफ्नो कार्यशैलीमा सुधारको प्रक्रिया समयमै गर्न नसक्दा पनि कतिपय समस्या देखिएको भन्दै त्यसको कारण नै स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको बताए।

संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा पनि जोड दिए।

यसका अतिरिक्त नेपाली कांग्रेसको १५औं महाधिवेशन ८४ को निर्वाचन अगावै ०८३ मंसिर अगाडि नै हुने दाबी पनि गरे।

थापाले पार्टीको महाधिवेशनका बिषयमा कोही अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने बताए।

पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उनको दाबी छ।

कांग्रेसको विधानमा रहेको व्यवस्था अनुसार, सबै तहका सदस्य र पदाधिकारीको कार्यकाल चार वर्षको रहने र त्यस अवधिमा विशेष कारणबस अधिवेशन हुन नसके एक वर्ष थप अर्थात ५ वर्ष र संविधानको प्रावधान अनुसार थप ६ महिना गरी साढे ५ वर्षसम्म जान सक्दछ।

अर्थात, ०७८ मंसिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनपछि गठित केन्द्रीय तथा प्रदेश कार्यसमितिको कार्यकाल ०८२ मंसिरसम्ममा चार वर्ष पूरा हुने भएपनि विद्यमान विधानको व्यवस्था र पार्टीको पूर्वतयारीमा देखिएको कमजोरीका कारण चार वर्ष त के पाँच वर्षभित्र पनि अधिवेशन हुने वा नहुने कुनै टुंगो छैन।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update