प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको दाबी गरेको छन्।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारको मुख्य एजेण्डा नै स्थायित्व, सुशासन र विकास रहेकाले अहिले गतिशील स्थायित्व कायम भएको बताए।
उनले राज्यका नीतिहरु छिनछिनमा अस्वभाविकरुपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्नेमा सरकारको ध्यान रहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले सबैको बिचारलाई सरकारले सम्मान गर्ने भएकाले अहिले कुनै आन्दोलन गरिरहनुपर्ने अवस्था नरहेको दाबी समेत गरे।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।
निजी क्षेत्र समेत विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार उनले बताए।
प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै लैजाने धारणा पनि राखे।
ठुला उत्पादन र उत्पादकत्व बढाउन सरकार अग्रसर रहेको भन्दै उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि बताए।
त्यस्तै महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको बताए।
उनले अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने लागेको भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।
उनले निजि क्षेत्रको आग्रहमा करिब ३५ वटा कानुनमा सुधार भएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको भन्दै सरकारलाई धन्यवाद समत दिए।
अध्यक्ष ढकालले निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुन नहुनेमा जोड दिए।
उनले सरकार र निजि क्षेत्रको संयुक्त प्रयासमा दोहोरो अंकको वृद्धि सम्भव रहेको बताए।
कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ठ प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो।