नेपाल सरकारले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।
परराष्ट्र मन्त्रालयको टोली म्यानमार पुगेर भूकम्प प्रभावितहरुका लागि खाद्यान्न, औषधि, लत्ताकपडा, टेन्ट लगाएत २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो।
यसअघि मन्त्रिपरिषद्को बैठकले म्यानमारमा भूकम्प पीडितहरुका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो।
नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा संकलन भएका सामाग्री म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले जानकारी दिए।
म्यान्मारमा हालै गएको भूकम्पमा परेको म्यानमारका नागरिकलाई केहि सहयोग होस् भनेर सरकारले सहयोग उपलव्ध गराएको उनले बताए।
उनले नेपाल सरकारले हस्तान्तरण गरेको सामाग्री म्यानमार सरकारले प्रभावितहरुलाई वितरण गर्ने जानकारी दिए।
त्यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमारमा भूकम्प गएपछि नेपालमा खबर गरेर नेपाली सेनाको टोली आएर सेवा गरिरहेको जानकारी दिए।
अहिलेसम्म नेपाली सेनाको टोलीले १३ सय भन्दा बढिको उपचार गरेको उनले जानकारी दिए।
उनले म्यानमारमा डेढ लाख नेपाली भाषी नागरिक रहेको पनि बताए।
म्यानमारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्पका कारण तीन हजार ६ भन्दा बढिको मृत्यु भएको छ भने हजारौ घाइते भएका छन्।
भूकम्पमा १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने १०–१५ जना हराइरहेको नेपाली दूतावासले जनाएको छ।