चैत १५ गतेको तीनकुने घटनाका मुख्य अभियुक्तका रुपमा बदनामी कमाएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई १५ दिनपछि प्रहरीको नियन्त्रणमा परेका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहको नेतृत्वको राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको नारा लिएर सडक बिद्रोहको घोषणा गर्दै चैत १५ गते तीनकुनेमा विरोध सभाको आयोजनाका मुख्य आयोजक प्रसाईलाई नेपाल प्रहरीको टोलीले उनकै गृहजिल्ला झापाको सीमाना नजिकै भद्रपुरबाट पक्राउ गरी शुक्रबार नै काठमाडौं ल्याइएको छ।
तीनकुनेमा आयोजित कार्यक्रमस्थलमा तयार गरिएको मञ्चमै नगई सोझै प्रहरीको घेरा तोड्दै संसद भवन नयाँवानेश्वरमा हमला गर्ने रणनीतिका साथ सुरक्षाकर्मीमाथि जथाभावी गाडी हाँक्दै भीड र सुरक्षाकर्मीलाई हिंसात्मक गतिविधिमा उक्साएर फरार भएका प्रसाईलाई सुरक्षाकर्मीले सीमापारीको आसामबाट नियन्त्रणमा लिएको समाचार बिहिबार साँझै प्रकाशित भएका थिए।
उक्त घटनामा पूर्वराजाबादीका समर्थकहरुले लगाएको आगोमा परि एक फोटो पत्रकारको निधन भएको थियो भने, सुरक्षाकर्मीले चलाएको गोली लागेर कीर्तिपुर ४ का सविन महर्जनको मृत्यु भएको थियो। घटनामा दर्जनौँ सवारी साधन, निजी घर तथा सरकारी कार्यालयसँगै पार्टी कार्यालय र व्यापारिक भवनमाथि पनि तोडफोड र आगजनी भएपछि सुरक्षाकर्मीले उक्त घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई अपराधिक क्रियाकलपामा संलग्न भएको आरोपमा मुद्दा दायर गर्नुअघि अनुसन्धान जारी राखेको छ।
सोही सूचिको पहिलो नम्बरमा रहेका प्रसाई भने भिडलाई भड्काएर सोही राती आफ्ना सुरक्षाकर्मीसहित काठमाडौंबाट भागेका थिए।
यसरी भाग्ने क्रममा उनी नेपालको खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय भूभागमा लुकिबसेको हुनसक्ने आशंका धेरैले गरेका थिए। सोही मुताविक सुरक्षा निकायले उनको खोजि गर्न भारतीय शहरहरुमा पनि प्रहरी टोली खटाएको थियो।
यहि क्रममा भूमिगत अवस्थामा रहेका प्रसाईले फरार भएपछि दोस्रो पटक फेसबुकमार्फत बुधबार दिएको सन्देशमा आफू नेपालभित्र सुरक्षित रहेको र आफूले उल्लेख गरेका केही कानून व्यवसायी र मानव अधिकारकर्मीको रोहबरमा आफ्नो ज्यानको सुरक्षा भए प्रहरीसमक्ष उपस्थित हुन तयार रहेको बताएका थिए।
तर, नेपाल र भारतबिच हुन नसकेको सुपुर्दगी सन्धीको कारण भारतीय प्रहरीबाट नेपाल प्रहरीले प्रसाईलाई जिम्मा लिन नसकिने कानूनी जटिलताका कारण नेपाल प्रहरीले प्रसाईलाई भारतबाट नेपाल ल्याएको समाचारको खण्डन गरिसकेको छ।
यसका बाबजूद शुक्रबार बिहानै झापाको सीमा क्षेत्र भद्रपुरबाट नियन्त्रणमा लिएको जानकारी दिँदै प्रहरीले उनलाई अपरान्ह झापाबाट बुद्ध एयरको विमानमार्फत काठमार्डौ पठाइसकेको छ।