हिमाल दैनिक
बिचौलियाको पहुँच प्रधानमन्त्री र नेताको बेडरुमसम्मै छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाहरुको पहुँच प्रधानमन्त्री र नेताको बेडरुमसम्मै हुने गरेको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन्।

बौद्धिक पेशाकर्मी अभियान परिषदले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाले–कांग्रेस गठबन्धन सरकारको तर्फबाट गठित उच्चस्तरिय संयन्त्रका सदस्य समेत रहेका महामन्त्री थापाले देशको वर्तमान आर्थिक अवस्थामा देखिएको समस्याको मुख्य कारक बिचौलियाहरुकै कारणले आएको दाबी पनि गरे।

उनले भने, ‘म यो प्रधानमन्त्री वा त्यो प्रधानमन्त्री भनेर भन्दिन तर, बिचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो।’

पछिल्लो समय राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्ता र सत्ता बाहिर विशेष चर्चा पाइरहेको बेला महामन्त्री थापाले यसमा पनि बिचौलियाहरुकै हाबी हुँदाको परिणामले भएको बताए।

उनले भने, ‘विगतमा राष्ट्र बैंकको गभर्नरको नियुक्तिकाबारेमा कुरा चल्दै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला? अथवा यसले बनाउला कि त्यसले बनाउला भन्ने हुन्थ्यो। अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लमखुल्ला बहस र छलफल हुने भनेको हामी कहाँ नेर पुगेछौँ त?’

थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोषा जनतालाई महशुस गराउन सक्नुपर्नेमा भन्दै अहिलेको अवस्थामा सबै भन्दा महत्वपूर्ण कुरा भनेको कांग्रेसले सिंगो देशलाई भरोषा दिन सक्छ कि सक्दैन भन्ने कुरा अहंम सवाल रहेको बताए।

यो बेला कांग्रेसले सिंगो देश र जनतालाई नआत्तिनुहोस्, हामी छौँ, हामी समाह्ल्छौँ। जे जति असन्तुष्टि र गुनासाहरु छन् यी सबै कुराहरु हामी समाल्छौँ भनि भरोषा दिन सक्नु पर्ने पनि उनले बताए।

देशलाई कंकडको स्पीड चाहिएको र त्यसले दिनानुदिन सबै तिर सफलताको सन्देश दिनु पर्ने बेलामा सरकार ट्रयाक्टरको स्पीडमा चलिरहेको भन्दै सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे।

साथै उनले सरकारको अहिलेको गतिले नेपाली युवाले चाहेको परिकल्पनाको गति नै पक्रिन नसकिरहेको आरोप पनि लगाए।

विगतमा सरकारले संसदबाटै नियमित प्रक्रियाबाट विधेयक पारित गरेर जानसक्ने अवस्थामा पनि अध्यादेशको बाटो लिएको प्रसंगलाई प्रतिरक्षा गर्दै उनले त्यतिबेला सरकारले समयको पदचाप र आवश्यकताबोध होस् भन्ने सोचाइमा गरिएको बताए।

वर्तमान नेतृत्वमा मुलुकलाई अघि बढाउने उर्जा र जोशको सट्टा सिथिलता रहेको कारण अहिले आफैँमा अलमलको स्थ्तििमा दल र नेताहरु परेको बताए।

यसको अर्थ अहिलेको व्यवस्था वा सरकार बदल्ने कुरा आफूले नगरेको भन्दै अहिलेको परिस्थ्तििमा जुन संसदमा कुनै पनि पार्टीको स्पष्ट बहुमत नभएको अवस्थामा जस्तोसुकै अवस्थामा पनि सरकार यसरी नै र यस्तै प्रकृतिबाट बन्ने अवस्था रहेको भन्दै आफूहरुले त्यो लक्ष्यका साथ सरकारले काम गरोस भनि सहयोग गर्न चाहँदा पनि हुन नसकिरहेको बताए।

सरकारले विगतदेखि गम्भीरताका साथ काम गरेको भए अहिले शिक्षकहरु आन्दोलनमा उत्रनु पर्ने स्थिति नै नआउने दाबी उनले गरे।

यी सबै कुराको कारक नेता वा नेतृत्वको कार्यशैलीका कारण जटिलता भएको भन्दै अबको विकल्प भनेको या त नेतृत्वलाई सम्झाएर वा बुझाएर सकिन्छ भने शैली बदल्ने नभए नेता बदल्नु पर्नेमा उनले जोड दिए।

अहिलेको समस्या भनेको नेताको शैलीका कारण भएको दाबी गर्दै शैली वा नेता बदले हुने कुरालाई छाडेर व्यवस्था नै बदल्ने कुराले समस्याको सही समाधान नदिने पनि दाब िगरे।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update