प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ।
वर्तमान सरकारको निरन्तरता र आयुबारे सामाजिक संजाल र मिडियाहरुमा स्वयं सत्तारुढ दलकै कतिपय नेताहरुले दिएका अभिव्यक्तिलाई आधार बनाएर अनेक अड्कलबाजीपूर्ण समाचार सम्प्रेषण भइरहेका बेला प्रमुख दुई दलका शीर्ष नेताहरुबिच भेटवार्ता भएको हो।
दुई नेताहरुबिचको छलफलका क्रममा सरकारको कार्यशैलीलाई प्रभावकारी बनाउने र मुलुक र जनताका गुनासा सम्बोधन गर्ने सवालमा के कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल केन्दित रहेको बताइएको छ।
यसका अतिरिक्त विगत लामो समयदेखि बस्न नसकेको सत्तारुढ दलका नेताहरु सम्मिलित संयन्त्रको बैठक बोलाएर सरकारको कामकारबाहीदेखि आगामी संसद अधिवेशनमा सरकारको वार्षिक बजेट, नयाँ कानून निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस सभापति देउवा निकट स्रोतका अनुसार, सत्ता संचालनका लागि गठित संयन्त्रको बैठक यसअघि विविध कारणबस बस्न नसकिरहेको अवस्थामा यसबारे बाहिर आएका असन्तुष्टि र आलोचनाको विषयालई मत्थर पार्न पनि संयन्त्रको बैठक बुधबार साँझ बस्ने गरी तयारी भइरहेको बताइएको छ।
उता संयन्त्रकै सदस्यका रुपमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारको कार्यशैलीको चर्को आलोचना गर्दै बिचौलियाहरु प्रधानमन्त्री र नेताहरुको बेडरुमसम्मै पुग्ने गरेको अभिव्यक्रि दिएलगत्तै सभापति देउवा र प्रधानमन्त्री ओलीबिचको भेटवार्तालाई विशेष अर्थपूर्ण भेटवार्ताका रुपमा हेरिएको छ।