
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति पौडेलले बैंशाख १२ गते शुक्रबारका दिन दिउँसो १ बजेका लागि संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेका हुन्।
नेपाल संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
संविधान र संसदीय परम्परा अनुसार, हरेक वर्षको बैशाख÷जेठमा संसदको बजेट अधिवेशन सुरु भएर आगामी आर्थिक वर्षको आय÷व्ययको अनुमानमाथि संसदमा छलफल र पारित हुने गर्दछ। जसका आधारमा यो अधिवेशनलाई वर्षे अधिवेशन अथवा बजेट अधिवेशन पनि भन्ने गरिन्छ।
यसका अतिरिक्त विभिन्न माग गर्दै विगत दुई हप्तादेखि देशभरीका सामुदायिक विद्यालयका शिक्षकहरु राजधानीका सडकमा विरोध प्रदर्शन जारी राख्दै माग पुरा नभएसम्म काममा नफर्किने अडान लिएपछि सरकारले उनीहरुको माग सम्बोधनको प्रयास अघि बढाउन पनि संसद अधिवेशन बोलाउन बाध्य देखिएको हो।
यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।