सत्ता साझेदार दलबिच उत्पन्न मतभेदका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै भविश्यमाथि नै प्रश्न चिन्ह खडा भइरहेको बेला सत्ता साझेदार दल नेपाली कांग्रेसले राजनीतिक वृत्तमा उत्पन्न आशंकालाई चिर्ने कोशिश गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बिहिबार बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको अनौपचारिक बैठकले पछिल्लो समय देखिएका सबै किसिमका समस्याहरुको समाधान गरी अघि बढ्न सत्तागठबन्धनमा रहेका दलहरुबीच आपसी तालमेल गर्दै सरकारको गति अघि बढाउने निष्कर्ष निकालेको हो।
विशेषगरी पार्टीका जिम्मेवार पदाधिकारीदेखि सरकार संचालनका लागि गठित दुई दलीय राजनीतिक संयन्त्र र कार्यदलका सदस्यहरुले नै सरकारको कार्यशैली र भविश्यमाथि नैै गम्भीर प्रश्न उठाउँदै सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्न थालेपछि उक्त विषयमा सभापति देउवा स्वयंले पार्टीका जिम्मेवार पदाधिकारीहरुलाई समेत निर्देशन दिनु परेको छ।
खासगरी पार्टी उपसभापति र महामन्त्रीद्वयले नै सरकारको विषयमा सामाजिक संजाल र सार्वजनिक कार्यक्रममार्फत विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको बर्खास्ती र नियुक्तिदेखि राष्ट्र बैकको गभर्नर लगायतका नियुक्तिको विषयमा असन्तुटि र असहमति व्यक्त गरेको विषयमा पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा प्रश्न उठाएका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार, सरकार संचालनका लागि गठित संयन्त्रमै रहेका नेतादेखि पार्टीका जिम्मेवार पदाधिकारीहरुले सरकार, यसको नेतृत्व वा सरकारका मन्त्रीहरुको कार्यशैली वा निर्णय प्रक्रियाकोबारेमा असहमति भए पहिले पार्टीभित्र वा सत्तागठबन्धनभित्रै छलफल र समाधानको उपाय खोज्ने भन्दा बाहिर बोल्दै हिड्ने कुरा कति जायज हो भनि प्रश्न उठाएका थिए।
उपसभापति, महामन्त्री र अन्य पदाधिकारीहरुको अभिव्यक्तिबाट असन्तुष्ट बनेका सभापति देउवाले त्यसपछि बैठकमा सबै पदाधिकारीहरुलाई आफ्ना असहमति वा विमति भए पार्टीभित्रै अथवा सत्ता गठबन्धनको बैठकभित्र राखेर समाधान खोज्न र जिम्मेवारी बोधका साथ काम गर्न सबैलाई आग्रह गरेका थिए।
बैठकपछि बाहिरिने क्रममा पार्टी पार्टी प्रवक्ता महतले दिएको जानकारी अनुसार, बैठकले सत्तागठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको बताए।
गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको उनले बताए।
प्रवक्ता महतले नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता देखिएको भन्दै पार्टीगत भन्दा पनि व्यवसायिक दक्षता र योग्यतालाई प्राथमिकतामा राखेर गरिनु पर्ने धारणा राखे।
तालमेल र समन्वयका बिषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको उनले बताए।
प्रवक्ता महतले प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार ढल्दैछ भन्नु प्रतिपक्षी दलको धर्म बमोजिम स्वभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने जिकिर गरे।
बैठकमा आगामी केन्द्रीत समिति बैठकमा लैजाने एजेण्डा, संगठनका बिषय, शिक्षक आन्दोलन लगाएतका बिषयमा छलफल भएको प्रवक्ता महतले बताए।