नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रमाथि कुनै खतरा नरहेको दाबी गरेका छन्।
आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताए।
विगत केही समययता संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्ध पूर्व राजा र उनका समर्थकहरुले विभिन्न विषय अघि सार्दै सडक आन्दोलनको क्रममा अघि बढिरहँदा वर्तमान शासन व्यवस्थाका संचालकहरुको कार्यशैलीको कारण जनताले कतै फेरि व्यवस्था नै उल्टाइदिने पो हुन कि भन्ने आशंकासहितका चर्चा चलिरहेका बेला अध्यक्ष दाहालबाट यस्तो अभिव्यक्ति आएको हो।
अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनले बताए।
यद्यपी गणतन्त्रका बिषयमा दलहरुबीच कुनै बिमत्ति नरहेको उनेको स्पष्टोक्ति थियो।
त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने जानकारी दिए।
दाहालले अहिलको गठबन्धन संविधानको भावना बिपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको पनि बताए।
यसैगरी पछिल्लो समय पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई पुनः नेकपा माओवादीको शीर्ष नेतृत्व तहमा जिम्मेवारी दिएर सक्रिय राजनीतिमा तानेका दाहालले पुनसँगै सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा पनि बाटो खुला हुनेगरी अभिव्यक्ति दिएका छन्।
उनले संविधान र कानुन अनुसार पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीति र्फकन कसैले नरोक्ने दाबी गरे।
उपराष्ट्रपति नन्द किशोर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उनको भनाई छ।
उता पूर्व राष्ट्रपति भण्डारी पनि पुरानै पार्टी एमालेमा फर्किएर सक्रिय नेतृत्व दिने र सिंगो कम्युनिष्ट पार्टीहरुको एकतामा पहल गर्ने तयारीमा रहेको अड्कलबाजी भइरहेको छ।