हिमाल दैनिक
राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु सिंहदरबारभित्रैबाट पक्राउ
file photo

वर्तमान संविधान र शासन व्यवस्थाको विरोधसँगै मुलुकमा राजसंस्था र हिन्दुराज्यको पुनस्र्थापनाको माग राख्दै सडक आन्दोलनको घोषणामा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई प्रहरीले सिंहदरबार परिसरभित्रैबाट नियन्त्रणमा लिएको छ।

विगत केही समयदेखि संविधान र व्यवस्था विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेर सडक संघर्षमा उत्रिएको राप्रपाका अध्यक्ष लिङदेनसहितका नेताहरुले यसअघि नै सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोडेर पक्राउ दिने घोषणा गरेबमोजिम आइतबार उनीसहितका नेता तथा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका थिए।

सुरुमा सुरक्षाकर्मीले राप्रपाका नेताहरुलाई दलकै कार्यकक्षबाट बाहिर आउन नदिने कोशिश गरेपछि पछि त्यहाँबाट बाहिर निस्किएर सहरी बिकास मन्त्रालय अगाडि आफूले लगेका प्लेकार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरिएको छ।

श्रेष्ठले सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नागरिकको नैसर्गिक अधिकार कुण्ठित भएको भन्दै गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनुपर्ने  पक्राउ परेका सबै नेता, कार्यकर्ता रिहाइ हुनु पर्ने माग गरेका छन्।

त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले राप्रपाका नेताहरुको हातबाट पर्चा, पाम्प्लेटहरु खोस्दै च्यातिदिनुका साथै लिङदेन र प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीलाई पक्राउगरी प्रहरीको गाडीमा राखेको हो।

यसरी नेताहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि नेताहरुसँगै रहेका अन्य नेता तथा कार्यकर्ता र समर्थकहरुले गणतन्त्र मुर्दाबाद, भ्रष्टचारी सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए।

उता राप्रपाले सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रम अनुसार विजुली बजारमा सुरक्षाकर्मीको घेरा तोड्ने कोशिश गरिरहेका छन्।

बिहानैदेखि राप्रपाको सडक आन्दोलनका कारण उपत्यकाभित्रको सार्वजनिक आवागमन नराम्रोसँग प्रभावित भएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update