
शिक्षक महासङ्घको आन्दोलनकाबीच राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेको छ।
विभिन्न माग राख्दै देशभरीका सामुदायिक विद्यालयका शिक्षकहरु विगत २१ दिनदेखि राजधानीका सडकमा विरोध प्रदर्शनमा उत्रिएर पूर्वनिर्धारित कार्यक्रम बमोजिम कक्षा १२ को परिक्षामा सहभागी हुन तयार नहुँदा बढेको अन्यौलताका बाबजूद मंगलबार बिहान भक्तपुरमा बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए।
तोकिएको समयमा नै परिक्षा गर्न विद्यार्थीहरुबाट पनि अनुरोध भएकाले परिक्षालाई सञ्चालन गर्न बोर्ड तयार रहेको उनले बताए।
अध्यक्ष शर्माले परिक्षाका लागि केन्द्र समेत तोकिएको अवस्थामा सहज रुपमा परिक्षा सम्पन्न गर्न सबैसंग पुन अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।
बोर्डले परीक्षाको तयारी गरिरहदा शिक्षकहरू भने २१ दिनदेखि सडक आन्दोलनमा रहेका छन्। सरकारले शिक्षकहरुका कतिपय मागहरु सरकारको ढुकुटीले धान्न नसक्ने र कतिपय मागहरु शिक्षा ऐन भन्दा ज्यादा संविधानका विषयवस्तुसँग सम्बन्धित भएको कारण पनि उनीहरुका माग पूर्णरुपले सम्बोधन गर्न सकिरहेको छ।
यसका बाबजूद पनि सरकारले पटक पटक वार्ताका लागि बोलाएर शिक्षा ऐन संशोधन विधेयक आगामी अधिवेशनबाट पारित गराउने आश्वासन दिँदा पनि आन्दोलनरत पक्ष भने आफ्ना मुद्दालाई हातहातै र ताततातै समाधान गरिनु पर्ने बालहठपूर्ण अडान लिइबसेका छन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए।
शिक्षकहरुसंग भएको सहमति अनुसार नै शिक्षा ऐन जारी हुनुपर्ने उनको भनाइ छ। जब कि शिक्षा ऐन संशोधनका लागि सरकारले अघि सारेको संशोधन विधेयक संसदीय समितिमा विचाराधिन अवस्थामा रहेको छ। जसमा उल्लेखित प्रावधानमाथि दर्जनौँ सांसदले सयौँ संशोधन प्रस्ताव राखेका छन्। तर, यसरी विचाराधिन अवस्थामा रहेको विधेयकलाई तत्काल ऐनको रुपमा जारी गर्न संविधान, कानून, संसदीय परम्परा वा विधिशास्त्रले सम्भव देखिँदैन।
शिक्षा क्षेत्रमा अन्यौल भइरहँदा सोमबार शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलन र यसका मागबारे थप अन्यौलता बढ्न पुगेको छ।